काठमाडौँ। मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण आएको बाढी र पहिराले गण्डकी र कर्णाली प्रदेशका मुख्य सडक खण्डहरू अवरुद्ध भएका छन्।
नेपाल प्रहरीले बुधबार बिहान ७ बजे सार्वजनिक गरेको विवरण अनुसार पहिरो र बाढीका कारण केही सडक पूर्ण रूपमा बन्द छन् भने केही स्थानमा एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ।
गण्डकी प्रदेशको गोरखा जिल्लास्थित आरुघाट गाउँपालिका वडा नं. २ र ३ मा बाढीका कारण सोतीदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, कालिगण्डकी गाउँपालिका वडा नं. २ रोक्सेस्थित कालिगण्डकी करिडोर सडक खण्डमा पहिरो खसेका कारण अवरुद्ध भएको सडक हाल सफा गरी एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।
त्यसैगरी, कर्णाली प्रदेशको सुर्खेतस्थित बराहताल गाउँपालिका वडा नं. ७ औलिसेमा कर्णाली राजमार्गमा पहिरो खसेर बाटो अवरुद्ध भएकोमा हाल एकतर्फी रूपमा गाडीहरू सञ्चालन भइरहेका छन्।
पूर्ण रूपमा सडक सञ्चालनमा ल्याउनका लागि सुरक्षाकर्मी र सम्बन्धित निकायहरू खटिरहेको प्रहरीले जनाएको छ।










