काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न भू-भागमा मौसम आंशिक बदली रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भू(भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ।
बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
यसैगरी आज राति कोशी, मधेस र बागमती प्रदेशका सबै भू-भागका साथै गण्डकी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना कायमै रहनेछ।
बिहानपख भने तराईका भू-भाग, काठमाडौँ उपत्यकालगायत विभिन्न खोँचहरूमा थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।










