काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा दुई महत्त्वपूर्ण खेलहरू हुँदैछन्। लिग चरणका प्रतिस्पर्धात्मक खेलहरू अघि बढ्दै जाँदा टोलीहरूबीच अङ्क तालिकाको शीर्ष चारमा स्थान बनाउन कडा प्रतिस्पर्धा भइरहेको छ।
आजको पहिलो खेलमा हालसम्म ३ खेलबाट २ जित र १ रद्द खेलसहित ५ अङ्क बटुलेर अङ्क तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सको सामना गर्दैछ।
लुम्बिनी आजको खेल जितेर शीर्ष स्थानमा आफ्नो पकड अझ बलियो बनाउने दाउमा छ। अर्कोतर्फ, ४ खेलमा २ जित र २ हारसहित ४ अङ्क जोडेर चौथो स्थानमा रहेको जनकपुर बोल्ट्सका लागि शीर्ष टोलीलाई हराउँदै तालिकाको माथिल्लो स्थानमा उक्लिने सुनौलो अवसर रहनेछ।
साँझ हुने दोस्रो फ्लडलाइट खेलमा काठमाडौँ गोर्खाज र विराटनगर किङ्ग्स आमनेसामने हुनेछन्। काठमाडौँ गोर्खाजले २ खेलमा १ जित र १ हारसहित २ अङ्क जोडेको छ भने विराटनगर किङ्ग्सले ४ खेलमा २ जित र २ हारसहित ४ अङ्क हात पारेर अङ्क तालिकाको दोस्रो स्थान कब्जा गरेको छ।
आन्द्रे रसेल र लोकेश बम जस्ता आक्रामक ब्याटरहरूको उत्कृष्ट फर्ममा रहेको विराटनगर जितको लय कायम राख्ने प्रयासमा रहनेछ भने करण केसीको कप्तानीमा रहेको काठमाडौँ गोर्खाज दोस्रो जितको खोजीमा मैदान उत्रिनेछ।










