चिसापानीगढी ईभी दुर्घटना : ज्यान गुमाउनेको सङ्ख्या १४ पुग्यो, सबै मृतकको सनाखत



काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय (ईभी) गाडी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवकुमार काफ्लेका अनुसार दुर्घटनामा ज्यान गुमाउने १४ जनाकै पहिचान खुलेको हो।

मृत्यु हुनेमा सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय चालक रविशङ्कर कुमार मण्डलसहित चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका राकेश यादव, सुरेश यादव, छोटु यादव, २६ वर्षीय बिकेश यादव, ३५ वर्षीया पुनम यादव तथा उनका तीन सन्तान ७ वर्षीया दीक्षा यादव, ५ वर्षीया दीपिका यादव र १० वर्षीया अनुकुमारी यादव रहेका छन्।

यसैगरी, ३५ वर्षका गुड्डु यादव, उनकी ३२ वर्षीया श्रीमती गायत्री देवी, २६ वर्षीय रामदुलार यादव, २५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादवको पनि सोही दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका ६ जनालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो। घाइतेमध्ये ३३ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र राय सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।

त्यस्तै, गम्भीर घाइते भएका ३ वर्षीय सुजन यादव र १४ महिनाका सुदीप यादवलाई थप उपचारका लागि काठमाडौँको मेडिसिटी अस्पताल रिफर गरिएको छ भने ३१ वर्षीय ‘बेचु’ भनिने देवेन्द्र रायलाई चितवनको भरतपुरस्थित मनकामना अस्पताल पठाइएको छ।

प्रकाशित मिति : कार्तिक २६, २०८३ बिहिबार  ५ : २७ बजे