चाडपर्व लक्षित सुपथ मूल्य पसल र सामग्री थप्ने तयारी



काठमाडौं । दसैँ, तिहार र छठलगायतका चाड पर्वलाई लक्षित गरेर सरकारले सञ्चालन गर्ने सहुलियत मूल्यका पसल अघिल्लो वर्षभन्दा थपिने भएका छन् । सरकारले अघिल्ला वर्षभन्दा यो वर्ष केही पसल थपेर एकीकृत सहुलियत मूल्य पसल सञ्चालनको तयारी थालेको छ ।

यस वर्ष कोभिड­–१९ का कारण भीडभाड कम गर्ने अभिप्रायले सरकारले गत वर्षभन्दा केही पसल थपेर सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको जनाइएको छ । चाडपर्वमा उपभोक्तालाई थोरै भए पनि मूल्यमा राहत दिने उद्देश्यले सरकारले हरेक वर्ष यस्ता सहुलियत मूल्य पसल सञ्चालन गर्ने गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कम्पनी र दुग्ध विकास संस्थानले संयुक्त वा आआफ्नो किसिमले सहुलियत मूल्य पसल सञ्चालन गर्नेगरी तयारी भइरहेको छ । मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले यस वर्ष दसैँ, तिहारलगायतका चाडपर्व ढिला भएकाले भर्खर तयारी थालिएको बताए । दसैँ आउन १५ दिन अगाडि नै सहुलियत मूल्य पसल सञ्चालन गर्नेगरी मन्त्रालयले गृहकार्य थालेको जानकारी उनले दिए ।

उनका अनुसार यसबारे सम्बन्धित सरोकारवालासँग एक/दुई चरणमा छलफल भइसकेको छ । अब मन्त्रीसँग हुने छलफलले अन्तिम रूप दिनेछ र पसल सञ्चालनका लागि मिति पनि तय गर्नेछ । सहप्रवक्ता केसीले यो वर्ष कोभिड–१९ को स्वास्थ्य जोखिमलाई ध्यान दिएर केही पसल थप्ने गर्नेगरी छलफल गरिएको र थपिने सङ्ख्याको टुङ्गो नलागेको पनि जानकारी दिए ।

यसपटक खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यका र सुर्खेतमा सञ्चालन गर्दै आएको अनलाइनमार्फत सरकारले तोकेको सहुलियत मूल्यमा उपभोक्ताको घरसम्म पु¥याइने व्यवस्था हुने पनि मन्त्रालयले जानकारी गराएको छ । खाद्य कम्पनीले अघिल्ला वर्षमा चामल, तीतेफापर, कर्णालीको सिमीको मात्रै कारोबार गर्ने गरेको भए पनि यो वर्षदेखि चामल, दाल, गेडागुडी, तेल, आँटालगायतका खाद्यान्न खरिद गर्ने सुरु गरेको छ र हाल अनलाइनमार्फत पनि यी खाद्यान्न उपभोक्ताको घरसम्म पुर्याउँदै आएको छ ।

मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी र नुनमा सरकारले तोकेको मूल्यमा छुट दिनेछ भने दुग्ध विकास संस्थानले आफ्ना डिलर वा बिक्री केन्द्रमार्फत घिउ, पनिरलगायतमा छुट दिनेछ । कम्पनी, संस्थान र कर्पोरसनले खाद्यान्नमा छुट दिएबापत सरकारले अनुदानस्वरूप रकम उपलब्ध गराउने छ ।

तीन हजार खसी, बोका र च्याङ्ग्रा ल्याइने
खाद्य कम्पनीले यसपटक दसैँका लागि तीन हजार खसी, बोका र च्याङ्ग्रा खरिद गर्ने तयारी गरेको छ । कम्पनीले यसबारेमा यसअघि नै योजना सार्वजनिक गरिसकेको छ ।

तर सरकारले दसैँ, तिहारलाई लक्षित गरेर खाद्य कम्पनीलाई १० हजार मेट्रिक टन चिनी खरिदका लागि स्वीकृति दिएकामा दसैँमा नआउने भएको छ । खाद्य कम्पनीले भने कम्पनी सार्वजनिक खरिद ऐनअनुसार प्रक्रिया पुर्याएर खरिद गर्दा समय लाग्ने भएकाले यसपटकको दसैँ, तिहारका लागि खाद्य कम्पनीले चिनी बेच्न नसक्ने जनाएको छ ।

खाद्य कम्पनीका प्रवक्ता शर्मिला सुवेदीले चिनी खरिदको स्वीकृति नै ढिला भएकाले सार्वजनिक खरिद ऐनको लामो कानुनी प्रक्रिया पूरा गरेर दसैँ, तिहारअघि चिनी ल्याउन सम्भव नभएको बताए ।, गोरखापत्र दैनिकबाट

प्रकाशित मिति : आश्विन ५, २०७७ सोमबार  १ : २६ बजे