कोरोनाको नयाँ प्रकार युरोपेली देशमा पनि पुष्टि, युवा बढी प्रभावित



नयाँ प्रकारको कोरोनाभाइरसको संक्रमण युरोपेली देशहरुमा पनि देखिन थालेको छ ।

युरोपेली संघअन्तर्गतका आठओटा मुलुकमा नयाँ प्रकारको कोरोनाभाइरस देखिन थालेको पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।

डब्लुएचओका युरोपेली क्षेत्रका क्षेत्रीय निर्देशक हन्स क्युगले आफ्नो कार्यालयले अवस्थालाई गम्भीरतापूवक हेरिरहेको जानकारी दिए ।

उनले नयाँ प्रकारको भाइरसका लागि रक्षात्मक र नियन्त्रणात्मक व्यवस्था कडाइका साथ पालना गर्नुपर्नेमा पनि जोड दिए ।

कोरोनाको पुरानो भाइरसको भन्दा फरक नतिजा देखाउँदै नयाँ प्रकारको भाइरसले युवाहरुलाई बढी प्रभावित पारेको देखिएको पनि उनले जानकारी दिएका छन् ।

नयाँ प्रकारको कोरोना देखिएका आठ देशको पहिचान भएको बताए पनि उनले देशहरुको नाम भने उल्लेख गरेका छैनन् ।

उनले सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने र साबुन–पानीले हात हुने वा सेनिटाइजरको प्रयोग गर्नेलगायतका उपायहरुलाई कडाइका साथ अवलम्बन गर्न पनि आह्वान गरे ।

‘‘डब्लुएचओले सबै अवस्थालाई गम्भीरतापूर्वक नियालिरहेको छ,’’ निर्देशक क्लुगले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

यसको गुण, लक्षण, असरलगायतका बारेमा अध्ययन–अनुसन्धान भइरहेको र नतिजा आएर धेरै कुरा प्रष्ट भइसकेपछि मात्रै थप नयाँ रणनीति तय गर्न सकिने डब्लुएचओको भनाइ छ ।

नयाँ प्रकारको कोरोना बेलायतमा गत हप्ता पुष्टि गरिएको थियो । यो नै पहिलोपटक पुष्टि भएको हो । त्यसपछि बेलायतबाट अन्य देशहरुमा आवतजावत गर्न थप प्रतिबन्ध लगाइएको छ । तर, अन्य देशहरुमा पनि फैलिएको पुष्टि भइसकेको छ ।

विश्व स्वास्थ्य संगठनले गत वर्षको मार्च ११ देखि विश्वभरि कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको थियो । महामारी अहिले पनि जारी छ ।

हकिङ्स विश्वविद्यालयले दिएको जानकारीअनुसार अहिलेसम्म विश्वभरि सात करोड ९७ लाख १२ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् भने १७ लाख ४७ हजार ७९० भन्दा बढीको मृत्यु भएको छ ।

सबैभन्दा धेरै प्रभावित अमेरिका भएको छ भने दोस्रो धेरै भारत र तेस्रो धेरै ब्राजिल प्रभावित भएको विश्वविद्यालयले जनाएको छ ।

प्रकाशित मिति : पुस ११, २०७७ शनिबार  १० : ३० बजे