गत सोमवार म्यान्मारमा भएको सैन्य कूपश्चात् लगातार दोस्रो दिन हजारौँ मानिसहरू विरोध प्रदर्शनका निम्ति सडकमा उत्रिएका छन्।
मुख्य शहर याङ्गोनमा प्रदर्शनकारीहरूले सैन्य तानाशाहको विरोधमा अनि प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका छन्।
प्रदर्शनमा सहभागी कतिपय मानिसहरूले नेतृ आङ्ग सान सू चीको नेशनल लिग फर डिमोक्रेसी दलको रातो झन्डा तथा बेलुनहरू बोकेका थिए।
सोमवार सैन्य नेतृत्वले सत्ता कब्जा गरे लगत्तैदेखि नेतृ सू चीको अवस्था अज्ञात छ।
दङ्गा नियन्त्रणका लागि आवश्यक बन्दोबस्तीका साथ उत्रिएका प्रहरीहरूले शहरको केन्द्र भागमा जाने बाटाहरू छेकेका छन्।
एउटा पर्यवेक्षक समूह नेटब्लक्सक इन्टरनेट अब्जरभेटरीका अनुसार म्यान्मारमा अहिल इन्टरनेट लगभग पूर्ण अवरुद्ध पारिएको छ।
सामान्य समयको तुलनामा त्यहाँ कनेक्टीभिटी केवल १६ प्रतिशतमा झारिएको उसले जनाएको छ।
मानिसहरूलाई विरोध प्रदर्शनमा भेला हुनबाट रोक्न सेनाले ट्विटर तथा इन्स्टाग्राममा पहिले पहुँच रोकिदिएको थियो। फेसबुक त झन् एक दिन अगाडिदेखि नै बन्द गराइएको थियो।
इन्टरनेट बन्द
कैयन् प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा लगाइएका प्रतिबन्धबाट उम्कन भर्चुअल प्राइभेट नेटवर्क भीपीएनको उपयोग गरेका थिए।तर इन्टरनेटमा आमनिषेध गरिएपछि भीपीएनको प्रयोग समेत निकै प्रभावित भएको छ।
नागरिक समाजका सङ्गठनहरूले इन्टरनेट सेवा प्रदायक तथा मोबाइल नेटवर्कहरूलाई इन्टरनेट बन्द गराउने आदेशलाई चुनौती दिन आह्वान गरिरहेको रोयटर्स समाचार एजेन्सीले जनाएको छ।
मानव अधिकार समूह एमनेस्टी इन्टरनेशनलले इन्टरनेट बन्द गराउने कार्यलाई ुकठोर अनि लापरबाहीपूर्णु भन्दै त्यसले म्यान्मारका मानिसहरूलाई मानव अधिकार हनन् हुने जोखिममा पार्ने चेतावनी दिएको छ।
बिबिसी नेपालिबाट










