प्रधानमन्त्री शेरबहादुर देउवाले ६ महिनाभित्र सबै नेपाली नागरिकलाई कोभिड( १९ विरुद्धको खोप उपलब्ध गराउने प्रबन्ध गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको आज बसेको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले चैत मसान्तभित्र सबै नेपालीलाई खोप उपलब्ध गराउने सरकारको लक्ष्य सफल हुनेगरी काम गर्न निर्देशन दिएका हुन् ।
केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले दाताको सहयोगमार्फत वा आफैँ खरिद गरेर भए पनि समयमै सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउन सम्बद्ध सबै निकायलाई निर्देशन दिएका हुन । अघिल्लो सरकारले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसिएमसी) केन्द्र गठन गरेको थियो । अध्यादेशबाट गठित सो केन्द्र निष्क्रिय भएपछि देउवा सरकारले गठन आदेश मार्फत् कोभिड -१९ संकट व्यवस्थापन समन्वय केन्द्र गठन गरेको थियो । आज बसेको पहिलो बैठकले केन्द्रको जनशक्ति व्यवस्था र संगठन संरचना समेत स्वीकृत गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेश्वर न्यौपानेका अनुसार बैठकमा प्रधानमन्त्री देउवाले अनुदान वा खरिद जसरी भएपनि सबै नागरिकलाई खोप उपलब्ध गराउनेमा जोड दिएको जानकारी दिए ।
बैठकमा उक्त केन्द्रबाट अहिलेसम्मको प्रगति विवरणको विषयमा र स्वास्थ्य मन्त्रालयबाट हालको कोभिड–१९ सङ्क्रमणको राष्ट्रिय र अन्तर्राष्ट्रिय अवस्था तथा खोपका बारेमा प्रस्तुतिकरण भएको थियो । बैठकले उक्त समन्वय केन्द्रको जनशक्ति व्यवस्था र सङ्गठन संरचना स्वीकृत गर्ने निर्णय पनि गरेको सचिव न्यौपानेले जनकारी दिए ।








