प्रधानमन्त्री शेरबहादुर देउवाले हालको सत्तारुढ दलहरुको गठबन्धन पूरै समय रहने बताएका छन । ।संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिएर आज बिहान स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ठ कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले वर्तमान सत्तारुढ गठबन्धन पूरै समय चल्ने र यसमा कुनै शङ्का गर्न नहुने स्पष्ट गरेका हुन । । उनले भने , “गठबन्धन पूरै समयसम्म रहन्छ । गठबन्धनका सम्बन्धमा कुनै किसिमको शङ्का उपशङ्का आवश्यक छैन ।”
प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश प्रकरणबारे भने बोल्न चाहेनन् । पत्रकार सम्मेलनको सुरुमै देउवाले कोप–२६ सम्मेलनबाहेकका अरु प्रश्न नसोध्न आग्रह गरेका थिए ।
प्रधानमन्त्री देउवा यही कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गो नगरमा आयोजना भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिएर नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज स्वदेश फर्केका हुन । ।
पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले कोप सम्मेलनका दौरानमा छिमेकी मुलुक भारतलगायत विभिन्न मुलुकका नेताहरुसँग महत्वपूर्ण विषयमा छलफल भएको जानकारी दिए । उनका अनुसार विशेषगरी भारतसँग हवाई रुटका सम्बन्धमा विस्तृत कुराकानी भएको छ । भैरहवाको लुम्बिनीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि ‘एयरस्पेस’ का सम्बन्धमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल भएको छ ।
“गौतमबुद्ध विमानस्थलमा उडान गर्दा भारतको भूमि प्रयोग भएर उडान गर्नुपर्ने भएकाले एयरस्पेसको सम्बन्धमा कुराकानी भएको छ, यो लगायत अन्य विषयमा पनि राम्रो छलफल भएको र नेपालका निम्ति भारतको राम्रो सद्भाव देखिएको छ । भारतमा समेत युरिया मल अभाव रहेका बेला पनि नेपाललाई भारतले मल दिएर सहयोग गरेकोप्रति धन्यवाद दिएको छु”, प्रधानमन्त्री देउवाले भने ।
गौतमबुद्ध विमानस्थल शीघ्र सञ्चालनको तयारीमा छ । यो विमानस्थलमा एक महिनाभित्र क्लालिब्रेसन फ्लाइट गरेर त्यसको तीन महिनाभित्रै परीक्षण उडान हुने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्रधानमन्त्री देउवाले बेलायतका रक्षामन्त्रीसँगको छलफलको क्रममा नेपालप्रति धेरै ठूलो सद्भाव रहेको पाएको र गोरखा फौजको सङ्ख्या बढाउन सकारात्मक रहेको प्रक्रिया दिएको जानकारी दिनुभयो । “जुन बेलादेखिको गोरखाहरुको तलब बढेको छ, त्यही बेलादेखिको पेन्सन बढ्नुपर्छ भनेर कुराकानी भएको छ । बेलायतका प्रधानमन्त्रीसँगको छलफलमा पनि गोर्खाजको विषयमा सकारात्मक कुराकानी भएको छ”, उहाँले भन्नुभयो । सम्मेलनकै क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि नेपालको सम्बन्धका बारेमा संक्षिप्त कुराकानी भएको जानकारी प्रधानमन्त्री देउवाले दिए ।
उता सम्मेलनलाई सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणबारे जोडदारका साथ कुरा उठाएको बताए । कार्बन ग्यास घटाउने, अक्सिजन बचाउने र कार्बन उत्सर्जन घटाउनेबारे कुरा उठाएको उहाँले बताए । जलवायु परिवर्तनको जोखिमको बढी असर नेपालमा परेको र बाढी, पहिरोजन्य विपद्का घटना बढेकोप्रति ध्यानकर्षण गराउँदा अन्य मुलुकले चासो लिएको प्रधानमन्त्री देउवाले जानकारी दिए ।








