अर्लि इलेक्शन हुँदैन : माधव नेपाल



नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा पाँच दलीय गठबन्धन अझ बलियो हुने बताएका छन । नेकपा (एकीकृत समाजवादी) मध्यपुरथिमि नगर सङ्गठन कमिटीले आज मध्यपुर थिमिस्थित बालकुमारीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पाँच दलीय गठबन्धनलाई कसैले भत्काउन सक्दैन भने ।

अध्यक्ष नेपालले सङ्घीय संसद्को चुनाव संविधानले निर्धारण गरेका मितिमा हुने जनाउँदै भने, “कोही भ्रममा नपरे हुन्छ, अर्लि इलेक्शन हुँदैन, छिट्टै चुनाव हुनेवाला छैन, सङ्घीय संसद्को चुनाव आफ्नै समयमा हुनेछ, आगामी चैतमा स्थानीय तहको चुनाव हुनेछ, अब केही समयमा राष्ट्रियसभाको चुनाव हुन्छ, रिक्त स्थानमा सङ्घीय उपनिर्वाचन पनि अब हुन्छ ।”

उनले एमालेमा रहेका पार्टी कार्यकर्तालाई आफ्नो पार्टीमा आउन आह्वान गर्दै उनीहरुलाई जतिखेर आए पनि आफ्नो पार्टीमा ढोका खुला रहेको बताए । अध्यक्ष नेपालले भने, “एमालेमा बसेर पछुताइरहनुभएको, तपाईँहरूले त्यहाँ हेर्नुभयो, भोग्नुभयो, छाम्नुभयो, पीडा सहनुभयो, अब त फर्केर आए पनि हुन्छ, त्यहाँ अपमान, निन्दा, पीडा सहेर किन बसेको, एमालेमा पछुताउँदै बस्नु पर्दैन, अझै केही बिग्रिएको छैन, आउनोस् १० नेतालाई हाम्रो पार्टीमा ढोका खुला छ, स्वागत छ ।”

कार्यक्रममा नेकपा समाजवादीका जिल्ला कमिटी अध्यक्ष श्यामसुन्दर बस्नेतले अन्यपार्टीको काँध चढेर चुनाव जितेर दम्भ पाल्नेहरु अहिले नै एमाले छाड्दै समाजवादी पार्टीमा आउनेको जनलहर देखेर खुट्टा काम्न थालेको टिप्पणी गरे ।

प्रकाशित मिति : कार्तिक १८, २०७८ बिहिबार  १२ : ०८ बजे