१४ औं महाधिवेशनको मुखमा नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजक परिवर्तन भएको छ । यसअघिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भएको छ । यादवले संयोजक रहेर गरेको भूमिकाप्रति सभापति शेरबहादुर देउवाले धन्यबादसमेत दिएका छन् ।
साथै निर्वाचन समितिको संयोजकको जिम्मेवारी गोपालकृष्ण घिमिरेलाई दिइएको छ । उनी निर्वाचन समितिका सदस्य थिए । उनी वरिष्ठ अधिवक्ता पनि हुन् । सभापति देउवाको गृहजिल्ला डडेल्धुरामा देखिएको विवादले गर्दा संयोजक यादवले राजीनामा दिएका थिए । तर कांग्रेसले जारी गरेको सूचनामा भने स्वास्थ्यको कारण देखाएर राजीनामा दिएको उल्लेख छ । डडेल्धुरामा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकटले वडादेखि जिल्ला अधिवेशनमा भाग लिएका छैनन् । फेरि अधिवेशन हुनुपर्ने माग उनीहरूको छ । यसअघिका जिल्ला सभापति कर्णबहादुर मल्ललगायत पार्टी कार्यालयमा रिले अनशनमा बसेका छन् ।








