एमाले महाधिवेशनः पहिलो सूची सार्वजनिक, दाबी विरोधको समय सुरु, बन्दसत्र भने लम्बिने



नेकपा एमालेको १०औँ महाधिवेशनका केन्द्रीय नेतृत्वमा आउने आकांक्षी उम्मेदवारको पहिलो सूची सूचना पार्टीमा टाँसिएकाे छ । उम्मेदवारी दर्ता सकिएको झन्डै ४ घन्टापछि महाधिवेशनस्थलमा केन्द्रीय निर्वाचन समितिले पहिलो चरणको उम्मेदवारको सूची सार्वजनिक गरेको हो ।  पहिलो सूची सार्वजनिक गरेसँगै उम्मेदवारमाथि उजुरी, दाबी विरोधलगायतका प्रक्रिया सुरु हुनेछ भने उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने प्रक्रिया सुरु गर्ने निर्वाचन समितिले जनाएको छ ।
यता महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधि, अतिथि र स्वयंसेवकलाई सौराहामा खान र बस्नको व्यवस्था गरिएको छ । महाधिवेशन सुरु हुनुअघि नै एमालेले सौराहाका होटेलमा ३५ सय बेड बुकिङ गरेको थियो । म्झाैताअनुसार प्रतिनिधिलाई होटेलले तीन छाक खाना खुवाउने थियो । खाना र बेडको लागि एमालेले होटल व्यवसायीसँग एक करोड ९० लाख रुपैयाँमा सम्झौता गरेका थिए । ११ र १२ मंसिरमा सकिने भनिएको महाधिवेशनको बन्दसत्र भने लम्बिएको छ । अध्यक्षलगायत केही पदमा चुनाव हुने निश्चित भएको छ । निर्वाचनका लागि उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गरिसके पनि मतदान सुरु भएको छैन ।

बन्दसत्र लम्बिएपछि एमालेले थप एक दिन खाना खुवाउन व्यवसायीहरूलाई आग्रह गरेको छ । आज (साेमबार) दिउँसो र बेलुकाको खाना, भोलि (बिहीबार) बिहानको ब्रेकफास्ट र बेडको व्यवस्था गर्नेगरी अर्काे सम्झौता भएको क्षेत्रीय होटल व्यवसायी संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले बताए । थप एक दिन खाना र बेडको लागि करिब ६५ लाख रुपैयाँमा सम्झौता भएको उनले बताए । ‘थप एक दिन खाना र बेडको व्यवस्था गर्नेगरी पार्टीसँग हाम्रो सम्झौता भएको छ,’ उनले भने । बन्दसत्र लम्बिएपछि केही प्रतिनिधिहरू भने फर्किसकेका छन् ।’

प्रकाशित मिति : मंसिर १३, २०७८ सोमबार  ३ : ०२ बजे