शीर्ष नेताहरूबीच छलफल, कानुनविदसँग परामर्श गर्ने निर्णय



शुक्रबार बसेको गठबन्धन दलको बैठकले तीनै तहको निर्वाचन एकै पटक गर्ने विषय छलफल गरेको छ ।निर्वाचन खर्च, नेपालको भूगोललगायतका विषयलाई ध्यानमा राखेर नेताहरूका बीचमा छलफल भएको बताइएको छ ।

संवैधानिक व्यवस्था अनुसार निर्वाचन सम्पन्न गर्न गठबन्धन आवद्ध दलहरू प्रतिबद्ध रहेको र बैठकमा तीनै तहको निर्वाचन एकैचोटी गर्नेबारे पनि छलफल भएको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

तीन पटकमा सम्पन्न भएका स्थानीय तहका निर्वाचन, संविधान र कानुन अनुसार तीनको समयावधि, एकैपटक निर्वाचन गर्दा बाझिने सक्ने कानुनी ब्यवस्था र त्यसको उपाय, संघ तथा प्रदेशको निर्वाचन आदिबारे गठबन्धनको तर्फबाट कानुनविदसँग परामर्श गर्ने निर्णय बैठकले गरेको छ ।

संविधान र ऐनमा स्थानीय निर्वाचनबारे फरक–फरक व्यवस्था भएको बताउँदै नेताहरूका बीचमा त्यसको व्यवस्थापनका विषयमा समेत छलफल भएको बताइएको छ ।अब संविधान तथा कानुनी विदहरुसँग परामर्श गर्ने र स्थानीय तहको निर्वाचनको मिति तोक्ने सहमति भएको छ ।कुन मितिबाट स्थानीय तहका प्रतिनिधिहरूको पदावधि सुरु भएको मान्ने भन्नेबारे द्विविधा रहेकाले यसबारे विज्ञहरूिसँग छलफल गरेर निष्कर्ष निकाल्ने सहमति भएको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, रामचन्द्र पौडेल, नारयणकाजी श्रेष्ठ, बाबुराम भट्टराई, दुर्गा पौडेलसहितका नेताहरू सहभागी थिए ।

प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार  ७ : २७ बजे