वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय



सरकारले स्थानीय तहको निर्वाचन बैशाख ३० गते गर्ने निर्णय गरेको छ ।आजको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचनको मिती घोषणा गरेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले एकै चरणमा सक्ने गरी स्थानीय तहको निर्वाचनको मिति तोकेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिइन् ।

निर्वाचन आयोगले आगामी ५ जेठमा सात सय ५३ स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भएकाले १७ र २१ वैशाखमा निर्वाचनको मिति सरकारलाई प्रस्ताव गरेको थियो ।  अब ३० वैशाखमै एकै चरणमा स्थानीय तहको निर्वाचन हुने भएको छ । यसअघि २०७४ को स्थानीय तहको निर्वाचन तीन चरणमा सम्पन्न भएको थियो ।

यसअघी तीन दलको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराएका थिए ।

प्रकाशित मिति : माघ २४, २०७८ सोमबार  ४ : ११ बजे