सभामुख अग्निप्रसाद सापकोटाले आजलाई बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले नजाने भएको छ । एमाले नेता तथा सांसद शेरबहादुर तामाङले सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने जानकारी दिए ।
एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आज बस्ने एमाले संसदीय दलको बैठकले यसबारे निर्णय गर्ने बताए ।आजको सर्वदलीय बैठकमा एमाले जाने-नजाने टुंगो छैन, छलफल गरेर तय हुन्छ, नेम्वाङले भने ।
सभामुख सापकोटाको निजी सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु, नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेमकिपा सांसद प्रेम सुवाल, जनमोर्चा सांसद दुर्गा पौडेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतलाई बोलाइएको छ ।
सत्ता गठबन्धनका सांसदले आइतबार प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि मुलुकको राजनीति तरंगित भएको छ । प्रमुख प्रतिपक्षी एमालेले महाभियोग प्रस्ताव षडयन्त्रको भूमरीबाट आएको भन्दै प्रतिवाद गर्ने भनिसकेको छ । एमाले संसदीय दलको बैठक पनि आज बस्दैछ ।








