भोलिको संसद् बैठकमा एमसीसी टेबल गर्छौ : कांग्रेस प्रवक्ता महत



नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले भोलिको प्रतिनिधसभा बैठकमा एमसीसी टेबल हुने बताएका छन् ।मंगलबार कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले भोलिको संसद् बैठकमा एमसीसी टेबल हुने बताएका हुन् ।

सानेपास्थित पार्टी कार्यालयमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा नेता प्रकाशशरण महतले एमसीसीबारे राजनीतिक दलको द्वैध चरित्रले देशलाई हित नगर्ने बताए ।एमसीसीसँग सबै राजनीतिक दल जोडिएको प्रसङ्ग उल्लेख गर्दै उनले एमसीसी देशको हितमा रहेको र यसबारे फैल्याएको निराधार हल्लाको पछि नलाग्न सबैमा आग्रह गरे ।

एमसीसी लागु भएमा अमेरिकी सेना आउने हल्ला निराधार रहेको भन्दै नेता महतले नेपालकै कानुनको परिधिमा रहेर एमसीसी परियोजनाबाट आउने रकम विद्युत् प्रसारण लाइन निर्माण र सडक निर्माणमा खर्च हुने जानकारी दिए ।कांग्रेस, एमाले, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)सहित सबै राजनीतिक दल एमसीसीसँग जोडिएको र पक्षमा रहेको जानकारी दिँदै उनले द्वैध चरित्र नदखाई अनुमोदन गर्नु आग्रह गरे ।एमसीसीबारे नियोजित रूपमा हल्ला फैल्याइएको भन्दै उनले भ्रममा नपरी अनुमोदन गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : फाल्गुन ३, २०७८ मंगलबार  ५ : ५० बजे