आगामी निर्वाचनमा ध्यान केन्द्रित गर्न प्रवक्ता डा.महतको निर्देशन



नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले नेपाली कांग्रेसका सबै तहका पदाधिकारी र कार्यकर्ताहरुले समग्र ध्यान आगामी निर्वाचनमा लगाउनु पर्ने बताएका छन् ।नुवाकोटको क्षेत्र नं १ कोे क्षेत्रीय कार्यालय र प्रदेश ख को प्रदेश क्षेत्रीय कार्यालयको उद्घाटन समारोहमा प्रमुख अतिथिको आशनबाट बोल्दै उनले सो कुरा बताएका हुन् ।

नेपाली कांग्रेसले २०७४ सालमा सम्पन्न भएको निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसक्दा देशको पूर्वाधार निर्माणका आयोजनाहरु प्रभावित हुनुको साथै आर्थिक र सामाजिक विकासमा पनि असर परेको उनले बताए ।

उनले टोखा छहरे र ककनी हुँदै त्रिशुली पुग्ने बाटोको उदाहरण दिंदै भने, “ नेपाली कांग्रेसले निर्वाचन जितेको समयमा नुवाकोटका सडक आयोजनाहरुमा पर्याप्त बजेट परेको थियो । गत निर्वाचनमा नेपाली कांग्रेसले बहुमत पाउन सकेन । कम्युनिष्ट सरकारले यी सडकहरुमा पर्याप्त बजेट छुट्टयाएनन् । त्यसको परिणाम तपाईहरुले देख्नुभएको छ । भोग्नुभएको छ । देशभरी नै यस्तै अवस्था छ ।”

डा.महतले कार्यकर्ताहरुले पार्टीले आगामी निर्वाचनमा गठबन्धन गर्छ गर्दैन भन्ने चिन्ता नलिन आग्रह पनि गर्नुभयो । उनले भने, “निर्वाचनमा हरेक पार्टीमा आफूले बढी सीट जितौ भन्ने चाहना हुन्छ । हामीले पनि बढी सिट जित्ने हो । त्यसबेलासम्म गठबन्धनका सबै दलले आआफ्नो मूल्यांकन गर्नेछन् । गठबन्धनबाट हामीलाई बढी लाभ हुन्छ भन्ने पार्टीले निक्र्यौल गर्यो भने गठबन्धन हुन्छ । नभए पार्टीले आफ्नो बलबूतामा चुनाव लड्छ । हाम्रो तयारी पार्टीका सबै उम्मेद्वारले चुनाव जित्ने ढंगले हुुनुपर्दछ । वडा तहसम्मका हाम्रा उम्मेद्वारले चुनाव जित्ने गरी आजै देखि तयारी गर्नुहोला ।”

पूर्वपरराष्ट्रमन्त्री तथा ऊर्जामन्त्री डा। महतले एमसीसीको बारेमा सत्ता गठबन्धनका साझेदार दलहरुले राजनीतिक इमान्दारी नदेखाउदा समस्या परेको बताए । उनले अमेरिकाले दिएको ६० देखि ६५ अर्ब विकास अनुदान लिने प्रक्रियामा सबै दलका सबै नेताहरु सहभागी भएको र अहिले संसदमा छलफलका लागि प्रस्तुत गर्न केही दलबाट अवरोध गरिएको बताए । उनले भने,“ हिजो ४ देखि ५ महिनाभित्र संसदबाट अनुमोदन गर्दछौ भनेर प्रचण्डजीले चिठी लेख्नुभएको हो । नेकपा एमालेका वर्तमान अध्यक्ष के।पी।शर्मा ओली प्रधानमन्त्री हुँदा उहाँकै सरकारले एमसीसी कार्यान्वयन संझौता गर्दा संसदबाट अनुमोदन गर्ने प्रावधान राखेको हो । तर अहिले संसदमा छलफल हुन दुवै दलबाट अवरोध भएको छ ।

उनले भने,“ पहिले छलफल त हुन दिऔं । उहाँहरु डराउनुभएको छ । यसमा उहाँहरुले छरे जस्तो कुनै भ्रामक कुरा छैन । यो वैदेशिक अनुदान सहयोग पारदर्शी छ ।
उनले अनुदान सहयोग नेपालले नै ठेक्का लगाउन पाउने, नेपालले नै लेखापरीक्षण गर्ने र निर्धारित समयमा सम्पन्न गर्ने जस्ता यसका प्रावधानले आगामी दिनमा नेपालमा आउने अनुदानमा नयाँ मापदण्ड निर्धारण गर्न यसले सघाउने पनि बताए ।

प्रवक्ता डा. महतले सभामुखले कुनै पनि विषयलाई रोकेर राख्ने अधिकार नभएको भन्दै सरकारले पेश गर्ने विषयमा सभामुखले सघाउनु पर्ने बताए ।पूर्वमन्त्री डा.महतले नेपालका कम्युनिष्ट पार्टीका केही नेताहरुको प्रवृत्ति उजागर गर्दै भने, ‘एमसिसीका बारेमा आज एउटा कुरा भोलि अर्को कुरा । आज ठीक भोलि बेठीक । सत्तामा हुँदा ठीक नहुँदा बेठीक यस्तो पनि कुरा हुन्छ र?”

नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १ का सभापति ध्रुब श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा, केन्द्रीय सदस्य रामहरि खतिवडा, नेपाली कांग्रेस वागमती प्रदेशका संसदीय दलका नेता तथा वागमती प्रदेश सभापति इन्द्रबहादुर बानिया, प्रदेश राज्यमन्त्री कल्पना नेपाली, नेपाली कांग्रेस नुवाकोटका सभापति रमेश महत लगायतले बोलेका थिए ।

प्रकाशित मिति : फाल्गुन ८, २०७८ आइतबार  १० : ४० बजे