काठमाडौं माघ, २०–
चर्चित गुण्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले काठमाडौंको सुन्धारास्थित काठमाडौं मलका व्यापारीलाई धम्काएर जबर्जस्ती रकम असुली गरेको उजुरी परेपछि गोर्खालीलाई नियन्त्रणमा लिएको हो । उनलाई आइतबार काठमाडौंको नयाँ बानेश्वर चोकबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । महाशाखाका एसपी सोमेन्द्रसिंह राठौर नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।
कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं मल गोर्खालीको समूहले वर्षौंदेखि भाडामा लिएर अन्य व्यापारीलाई भाडामा दिने गरेको थियो । यो समूहले कोषलाई कम भाडा दिएर व्यापारीहरुसँग चर्को रकम असुल्दै आएको थियो । गुण्डागर्दी शैलीमा मलका व्यापारीलाई आतंकित पार्दै जबर्जस्ती रकम असुली गरेको जाहेरी परेकोले गोर्खालीलाई पक्राउ गरी हिरासतमा लिइएको महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए । प्रहरी हप्तादेखि गोर्खालीको खोजीमा थियो ।
प्रहरीले गोर्खाली लगायतको समूहविरुद्ध संगठित अपराध मुद्दामा पक्राउ पुर्जी जारी गरिसकेको छ । पक्राउ परेका उनलाई म्याद थपको लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीको तयारी रहेको बुझिएको छ । प्रहरीले गोर्खालीसँगै समिन उद्दिन, प्रकाश थापा, निलन घिमिरे र शिव खड्का लगायतलाई प्रतिवादी बनाएको स्रोतको दाबी छ ।