काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवत् नेपालको मौलिक संवत् तथा राष्ट्रिय पहिचानको महत्वपूर्ण आधार भएको बताउनुभएको छ ।
नेपाल संवत् ११४७ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले राष्ट्रिय विभूति शङ्खधर साख्वाले लिच्छवी राजा राघवदेवको समयमा गरिब तथा ऋणी जनतालाई ऋणमुक्त गराई नयाँ युगको सुरुवात गरेको स्मरण गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले नेपाल संवत्ले नेपाली सभ्यता, इतिहास, संस्कृति र स्वतन्त्रताको पहिचानलाई सुदृढ बनाएको उल्लेख गर्दै यसले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले शङ्खधर साख्वाको लोककल्याणकारी कार्यबाट प्रेरणा लिँदै सामाजिक समानता, सुशासन र समृद्धिका लागि निःस्वार्थ भावले अघि बढ्न सबैलाई आह्वानसमेत गर्नुभएको छ ।










