धादिङ माघ, २२–
धादिङको एक विद्यालयबाट पेस्तोलसहित तीनजना पक्राउ परेका छन् । प्रहरीले सोमबार अपरान्ह जिल्लाको उत्तरी भेगमा पर्ने गंगाजमुना –५ स्थित मण्डली माविबाट अबैध पेस्तोलसहित खनियाबास–५ सत्यदेवीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आशिष थापामगर र २३ वर्षीय बिशाल गुरुङलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट एकथान चाइनिज पेस्तोलसहित ७ राउण्ड गोली फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
उक्त विद्यालयमा क्षेत्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन भईरहेको थियो। सो स्थानमा ती युवाहरुको क्रियाकलाप शंकास्पद देखिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई खनतलासी गर्दा हतियार फेला परेको हो।
घटनापछि प्रहरीले प्रतियोगिता स्थल र आसपासमा सुरक्षाकर्मीको थप ७ जना टोली परिचालन गरेको जनाएको छ। पक्राउ परेका युवाहरुलाई प्रहरीले हिरासतमा लिएको छ भने उनीहरु विरुद्ध हातहतियार तथा खरखजाना मुद्दा चलाइने प्रहरीले जनाएको छ ।