गोंगबुको एक फ्ल्याटमा प्रहरीको छापा, १ लाख ५१ हजार नक्कली नोटसहित एकजना पक्राउ



काठमाडौं माघ, २७–
ठूलो परिमाणमा नक्कली नोटसहित काठमाडौंको गोंगबुबाट एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग, गोंगबुले ओमबहादुर कुँवर क्षेत्रीलाई १ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित पक्राउ गरेको हो ।
१ सय ५२ थान हजार दरको नोट बरामद भएको महानगरीय प्रहरी प्रभाग, गोंगबुले जनाएको छ ।
गएराति विशेष सूचनाका आधारमा प्रभागको टोली गोंगबुको गणेथानस्थित ह्याप्पी होम टोलमा पुगेको थियो । उक्त स्थानमा रहेको एउटा फ्ल्याटमा छापा मार्दा कुँवरको कोठामा रहेको दराजबाट १४१ वटा हजार दरको नक्कली नोट भेटिएको थियो । त्यस्तै, नजिकै रहेको हिक्मत कुँवरको कोठामा डसनामुनि ११ थान नक्कली नोट भेटिएको प्रहरीले जनाएको छ ।

हाल कुँवर फरार छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ । उनीहरुको साथबाट ५० थान पासपोर्ट पनि बरामद भएको छ । प्रहरीले ती पासपोर्टलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाउने तयारी गरेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले उनीहरु मेनपावर एजेन्ट भएको देखिएको छ । उनीहरुले ती नोट कलर प्रिन्टरबाट फोटोकपी गरेको जस्तो देखिन्छ ।

ती नोट बजारमा पुगेको हुनसक्ने आशंकामा प्रहरीले सर्वसाधारणलाई सचेत रहन समेत सुझाव दिएको छ ।

प्रकाशित मिति : माघ २७, २०७५ आईतबार  ७ : २९ बजे