मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१८ किलो सुन प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरी जवानका दाजुभाई पक्राउ



काठमाडौं फागुन, ३–
बिहीबार कञ्चनपुरको पुनर्वासबाट बरामद भएको १८ किलो सुन प्रकरणमा संलग्नताको आशंकामा सादा पोशाकका प्रहरी र उनका भाइ पक्राउ परेका छन् । गतवर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ३३ किलो सुन तस्करीमा प्रहरीको संलग्नता भएको भन्ने घटना सल्टिन नपाउँदै प्रहरी अर्को सुन काण्डमा मुछिएको छ ।

पक्राउ पर्नेमा सादा पोशाकमा कैलालीमा कार्यरत प्रहरी जवान सुरज तिरूवा र उनका भाइ लक्ष्मण तिरूवा रहेको प्रहरी स्रोतले जनाएको छ ।
निर्मला हत्याको अनुसन्धानका लागि कञ्चनपुरमै रहेको सीआईबी, अपराध महाशाखा, कैलाली र कञ्चनपुर प्रहरीको टोलीले बिहीबार दिउँसो एक घरमा खाडल खनेर खारेको अवस्थामा सुन बरामद गरेको थियो । सुनका मालिक भारतीय नागरिक भएको र उनी दिल्लीमा बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुई महिनाअघि नै सुन कैलाली पुगेको पनि खुलेको छ । सुन लुकाएको घर प्रहरी जवान सुरजका भाई लक्ष्मणको ससुराली हो ।

‘लक्ष्मणले भारतबाट भारतीय नागरिकको गाडीसहित सुन ल्याएका रहेछन् । भारतीय नागरिकले कैलालीबाट गाडी लिएर गए । तर तस्करीको सुन भएकाले कहिँ कतै प्रहरीमा उजुरी गरेनन्’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने ।

लक्ष्मण भारतीय व्यापारीको चालकको रुपमा काम गर्दै आएको बताइएको छ । सुन बेच्ने र सुनबारे जानकारी भएकालाई मिलाउने विषयमा विवाद हुँदा सुनको सूचना चुहिएको प्रहरी स्रोतले बतायो ।

नेपाली बजारमा १८ किलो सुनको मुल्य ९ करोड हुन आउँछ । सुन रुपन्देहीको सुनौली नाकामार्फत कैलाली हुँदै कञ्चनपुर पुगेको बताइन्छ । स्रोतका अनुसार यो अवैध सुन हो ।

३३ किलो सुन तस्करीमा प्रहरीका केही उच्च अधिकारी पुर्पक्षका लागि कारागार छन् भने केही रिहा भइसकेका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  १ : ५१ बजे