घुसकाण्डमा मुछिएका अख्तियारका आयुक्त पाठकले दिए राजीनामा



काठमाडौं फागुन, ३–
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । शुक्रबार दिउँसो उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन् ।
सत्तारुढ नेकपाले भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त पाठकविरुद्ध महाअभियोग लगाउने तयारी गरेको थियो ।
पाठकले घुस लिएको स्विकारेको भिडियोसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र आयोगका प्रमुख आयुक्त नवीन घिमिरेसमक्ष उजुरी परेपछि महाअभियोगको तयारी भएको थियो ।
कलेज विवादबारे आयोगमा परेको उजुरी तामेलीमा राखिदिने भन्दै पाठकले ७८ लाख लिएको आरोप छ । भिडियोसहितको उजुरी परेपछि आयुक्त पाठकलाई प्रमुख आयुक्त घिमिरेले पटक–पटक राजीनामा दिन आग्रह गरे पनि अटेर गरेका थिए । प्रधानमन्त्रीको निर्देशनसमेत नटेरेपछि महाअभियोग प्रस्ताव अघि बढाउन प्रधानमन्त्रीले नै पार्टीका सांसदहरूलाई निर्देशन दिएका थिए । तर, पाठकले त्यसअघि नै राष्ट्रपतिलाई राजीनामा बुझाएका हुन् ।

प्रकाशित मिति : फाल्गुन ३, २०७५ शुक्रबार  ८ : ०४ बजे