मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमजोर पासवर्डका कारण वित्तीय क्षेत्रमा साइबर चुनौतीको जोखिम



काठमाडौं फागुन, १२–संस्थागत इमेलमा राखिएको कमजोर पासवर्डका कारण बैंक तथा वित्तीय संस्थाहरू साइबर चुनौतीको जोखिममा रहेको पाइएको छ । साइबर सुरक्षासम्बन्धी काम गरिरहेको थ्रेटनिक्सले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले प्रयोग गरेका ३ हजारभन्दा बढी इमेलको पासवर्ड सजिलै डाउनलोड गर्न मिल्ने अवस्थामा छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

थ्रेटनिक्स रिपोर्ट दिइएको प्रतिवेदनमा सन् २०१८ भर नेपालको सूचना प्रविधि क्षेत्रमा भएको सुरक्षा चुनौती औंल्याइएको छ । प्रतिवेदनका अनुसार डट एनपी डोमेनको आधारमा निर्माण गरिएका ८ हजार ३ सय बढी इमेलका पासवर्डको डाटासेट डाउनलोड गर्न मिल्ने गरी इन्टरनेटमा भेटिन्छन् ।

‘तीमध्ये अधिकांशको पासवर्ड एक दुई तीन चार पाँच, पास वर्ड वान, एबीसीडी, इमेल ठेगानामा भएको नाम, मोबाइल नम्बर वा आफ्नो ठेगाना राखिएका छन्,’ अनुसन्धानमा संलग्न सुयश नेपालले भने, ‘हामीले सम्बन्धित बैंकहरूलाई उनीहरूको सुरक्षा कमजोरीको विषयमा जानकारी गराएका छौं ।’

उनले इन्टरनेटमा भेटिएका ८ हजारभन्दा बढी इमेल र तिनका पासवर्डमध्ये १३ सय वटा इमेलका पासवर्डहरू विश्लेषण गरेको जानकारी दिए । ‘यी पासवर्डहरूको कत्तिका बलिया छन् भनेर विश्लेषण गर्दा औसतमा २७ प्रतिशत मात्रै रहेको पाइयो,’ उनी भन्छन्, ‘पासवर्डलाई बलियो बनाउन अरूले अनुमान गर्न नसक्ने, शब्द, अंक र ठूलासाना अक्षर र संकेत राख्नुपर्छ तर कसैले पनि त्यसो गरेको पाइएन ।’

विशेषगरी संस्थागत इमेलहरूमा पासवर्ड कमजोर राख्ने प्रवृत्ति रहेको भेटिएको उनले बताए । इन्टरनेटमा भेटिएको इमेल र तीनका पासवर्डमध्ये तीन हजार बढी नेपाल बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित छन् । तीमध्ये १ हजार ८० वटा इमेल र पासवर्ड डट एनपी डोमेनको आधारमा तयार पारिएका र बाँकी २ हजार २ सय १७ वटा पासवर्ड डट कम डोमेनको आधारमा तयार पारिएको प्रतिवेदनमा जनाइएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  १ : ४३ बजे