मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेटौँडामा घट्यो जग्गाको कारोबार



काठमाडौं फागुन, १७–
प्रदेश ३ को अस्थायी राजधानी हेटौँडामा जग्गाको कारोबार घटेको छ । हेटौँडामा स्थायी राजधानी रहने वा नरहने द्विविधा बढ्न थालेपछि पछिल्लो समय जग्गा कारोबार घटेको जिल्ला मालपोत कार्यालय मकवानपुरले जनाएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

कात्तिक मसान्तभित्र राजधानी र नामकरणको विषय टुंग्याउने प्रयत्नमा जुटेको प्रदेश सरकारले फागुन मध्यसम्म पनि निर्णय गर्न सकेको छैन । अस्थायी राजधानी तोकिएपछि हेटौँडामा जग्गाको कारोबार ह्वात्तै बढेको थियो ।

मालपोत कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/०७४ मा १९ हजार १ सय ७४ कित्ता लिखत पारित भएको जग्गा आ।व। २०७४/०७५ मा १५ हजार २ सय ४५ र चालू आ।व। २०७५/०७६ को माघसम्म ८ हजार ३ सय १९ कित्ता रहेको छ ।

हेटौँडा अस्थायी राजधानी घोषणापछि प्रतिधुर न्यूनतम ५ लाखदेखि अधिकतम २० लाखसम्म मूल्यवृद्धि भएको एक जग्गा कारोबारी बताउँछन् । लामो समयदेखि मालपोत कार्यालयवरपर रहेर जग्गा कारोबार गर्ने अधिकांश कारोबारीले स्थायी राजधानीको विवाद बाहिरिँदा करोडौँ खर्चिएर खरिद गरेको जग्गा बिक्री गर्न समस्या भइरहेको गुनासो सुनाए ।

राजधानीको प्रभाव र प्लटिङ रोकिँदा जग्गा किनबेचमा कमी आएको कार्यालयप्रमुख मुक्ति भण्डारीले बताए । ‘जग्गा कारोबारमा कमी आए पनि राजस्व संकलन बढेको छ,’ उनले भने, ‘राजधानीको द्विविधा र अंशको नाममा गरिने प्लटिङमा रोक लगाइएपछि किनबेचमा केही गिरावट आएको हो ।’ कारोबारमा कमी आए पनि जग्गाको मूल्यांकनमा हुने बढोत्तरीले राजस्व वृद्धि भएको भण्डारीले बताए ।

सरकारले महिलाको नाममा जग्गा दर्ता गर्दा २५ प्रतिशत छुट दिने प्रावधान कार्यान्वयन गरेपछि जग्गाधनी महिलाको संख्या बढेको छ । मालपोत कार्यालयको तथ्यांकअनुसार हालसम्म जिल्लामा ७७ हजार ६ सय ७९ पुरुष र ६६ हजार ७ सय ४८ महिला जग्गाधनी छन् ।

कार्यालयप्रमुख भण्डारीका अनुसार विगत ५ वर्षको अवस्था हेर्ने हो भने प्रत्येक वर्ष १० प्रतिशतका दरले जग्गाधनी महिला बढिरहेका छन् । जग्गा दर्तामा २५ प्रतिशत छुट र पुरुष सरकारी कर्मचारीले खरिद गरेको अधिकांश जग्गा श्रीमतीको नाममा गर्दा जग्गाधनी महिला बढेको कार्यालयको दाबी छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  २ : १२ बजे