साताको पहिलो दिन नै नेप्से राताम्यै



काठमाडौं फागुन, १९–
साताको पहिलो कारोबार दिन नै नेप्से रातै देखिएको छ । नेप्से आज चार दशमलव ९५ अंकले घटेर ११ सय दशमलव ५८ अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दशमलव ९२ अंकले घटेर दुई सय ३३ दशमलव ८८ अंकमा झरेको छ । आज एक सय ७४ कम्पनीहरुको चार हजार आठ सय चार वटा कारोबारमा आठ लाख ७३ हजार चार सय ९५ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम २३ करोड ५३ लाख २० हजार नौ सय ४० रुपैयाँ पुगेको छ ।
आज १० वटा समुहको कारोबार भएकोमा होटल र जीवन बीमा समुहले कमाए पनि बाँकी आठ वटा समुहले गुमाएकाछन् । गुमाउने समुह मध्ये वाणिज्य बैंक समुहको सुचक छ दशमलव ५९ अंकले घटेर नौ सय ४० दशमलव तीन अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक चार दशमलव ४६ अंकले घटेर १४ सय तीन दशमलव २७ अंकमा झरेको छ । जलबिद्युत, निर्जिवन बीमा, फाईनान्स, उत्पादनमुलक, अन्य र लघुबित्त समुहको सुचक पनि घटेर रातै भएकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज भार्गभ बिकास बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा सिन्धु बिकास बैंक, कृषि बिकास बैंक आदि परेकाछन् । यसैगरी रकम कारोवारका आधारमा भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल बैंक आदि परेकाछन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  १० : १६ बजे