मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली विद्यालय सुनसान, विद्यार्थीजति भारततिर



काठमाडौं फागुन, २१–
सिरहाको दक्षिणवर्ती भगवानपुर गाउँपालिका–४ मा पर्ने ठाडीबजार भारतीय सीमासँग जोडिएको अन्तिम नेपाली गाउँ हो । गाउँपालिका क्षेत्रमा तीन माविसहित १६ वटा सामुदायिक विद्यालय छन् ।

विद्यालयको संख्या धेरै भए पनि नियमित पठनपाठन हुँदैन । जसका कारण ठाडी क्षेत्रका ६ सयभन्दा धेरै नेपाली विद्यार्थी भारतीय लौकाहा बजार क्षेत्रमा पर्ने भारतीय विद्यालयमा पढ्न बाध्य छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

स्थानीय जमुवा, बिसौल, कल्याणपुर गाउँका करिब चार सय घरधुरीलाई पायक पर्ने गरी ठाडी विश्वासपट्टिमा ०१५ सालमा स्थापित कक्षा आठसम्म पढाइ हुने आधारभूत तहको विद्यालय पनि छ । विद्यालयको भवन, कक्षाकोठा पर्याप्त छन् । स्थायी दरबन्दीका सातजना शिक्षक मात्र छन् । विद्यार्थीको संख्या भने निकै न्यून छ ।

आफ्नो घर–आँगनमा रहेको विद्यालयमा पढाइ नहुँदा विद्यार्थीहरू भारतीय विद्यालय पढ्न विवश छन् । अधिकांश विद्यालयको हालत उस्तै छ । ‘विद्यार्थी रजिस्टरमा मात्र भएपछि विद्यालय आएका शिक्षकको गफ चुट्ने कामबाहेक केही हुँदैन,’ विद्यालयनजिकै घर रहेका वृद्ध हजारी साहले भने ।

ठाडी बजार घर भएका रामउद्गार पासवानका जेठा छोरा शिवमकुमार भारतीय बजार लौकाहामा रहेको निजी विद्यालय ज्ञान भारती निकेतनमा कक्षा ६ मा पढिरहेका छन् । उनका भाइ सुन्दरम् पनि त्यही विद्यालयमा कक्षा दुईमा पढ्छन् । उनकै छिमेकी आराधना यादव र कुमकुम कर्ण कक्षा ७ तथा लक्ष्मी यादव कक्षा पाँचमा लौकाहा बजारको राजकीय कन्या मध्य विद्यालयमा पढिरहेका छन् ।

आराधना, लक्ष्मी, कुमकुमजस्ता ६ सय विद्यार्थी भारतीय लौकाहा बजारमा भारतीय सरकारको लगानीमा सञ्चालित तीनवटा आधारभूत, एक मावि र १०ं२ तहको एकसहित पाँचवटा सरकारी विद्यालयमा पढ्ने गरेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  १ : ४५ बजे