मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारसँगको तीन बुँदे सहमतिपछि शिक्षकका आन्दोलनका सबै कार्यक्रम फिर्ता



काठमाडौं फागुन, २३–
स्वतः स्थायी हुनुपर्ने माग राखेर आन्दोलनमा उत्रिएका शिक्षक र सरकारबीच ३ बुँदे सहमति भएको छ । बिहीबार बिहान शिक्षा मन्त्रालयमा भएको वार्तामा तीन बुँदे सहमति भएको हो । सहमतिपछि गएको सोमबारदेखि आन्दोलरत राहत शिक्षकले आन्दोलन फिर्ता लिएका छन् ।
आज भएको सहमति अनुसार तत्काललाई अस्थायी, राहत, बाल विकास केन्द्र ईसीडीका शिक्षकका लागि आन्तरिक प्रतिस्पर्धातर्फ प्रस्ताव गरिएको २० प्रतिशत कोटा हटाइएको छ । शिक्षा सम्बन्धमा बनेको विधेयक अर्थात राष्ट्रिय शिक्षा ऐनमाथि थप छलफल गर्ने र छलफलमा राहत शिक्षकलाई पनि समावेश गर्ने उक्त सहमतिमा उल्लेख गरिएको छ ।

त्यस्तै, आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गर्दा घाइते भएका शिक्षकहरुको निःशुल्क उपचार गर्ने समेत सहमति भएको छ । राहत शिक्षक संघर्ष समितिका अध्यक्ष खेम अधिकारीका अनुसार ऐन पारित भएपछि नियमावली बनाउँदा आन्तरिक प्रतिस्पर्धातर्फको कोटा बढाउने र अस्थायी शिक्षकलाई स्थायी प्रक्रियामा लैजाने सहमति भएको छ ।
उनका अनुसार शिक्षा मन्त्रालयसँग सहमति भएपछि आन्दोलन गर्न काठमाडौं आएका राहत शिक्षक आजैदेखि विद्यालयको पठनपाठनमा फर्किने भएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहिबार  ६ : २१ बजे