मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बलात्कारका घटनामा ५० प्रतिशतले वृद्धि



काठमाडौं फागुन, २८–
महिला हिंसाविरुद्ध अभियान चलिरहँदा बलात्कारका घटना करिब ५० प्रतिशतले वृद्धि भएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार औसत प्रहरीमा दैनिक ६ भन्दा धेरै बलात्कारका घटना दर्ता हुने गरेका छन् ।

गत साउनदेखि पुस मसान्तसम्म एक हजार एक सय आठवटा बलात्कारसम्बन्धी उजुरी प्रहरीमा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षमा एक हजार चार सय ८० मुद्दा दर्ता भएका थिए । जसअनुसार अघिल्लो वर्षको तुलनामा बलात्कारका घटना करिब ५० प्रतिशतले वृद्धि भएका छन् । बलात्कारका घटनामा उजुरी दिने प्रवृत्ति बढेकाले संख्या थपिने प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदी बताउँछन् ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार साउनमा २०५, भदौमा १९९, असोजमा १९८, कात्तिकमा १८७, मंसिरमा १५३ र पुसमा १६६ वटा मुद्दा प्रहरीमा दर्ता भएका छन् । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएसँगै महिलामाथि हुने हिंसाविरुद्ध सरकार तथा अन्य निकायबाट अभियान चलिरहेको छ । तर, त्यसयता घटना झन्–झन् बढेका छन् ।

समग्र मुद्दामा सुधार

फौजदारी मुद्दामा अदालतबाट कसुर ठहर गत वर्षको तुलनामा सुधार भएको छ । महान्यायाधिवक्ताको कार्यालयअनुसार गत वर्ष ७१.५९ प्रतिशत मुद्दामा अदालतबाट कसुर ठहर भएको छ ।

गत वर्षको तुलनामा फौजदारी मुद्दामा प्रहरी र सरकारी वकिलको सफलता बढेको छ । अघिल्लो आर्थिक वर्षमा ६९.९७ प्रतिशत थियो । आर्थिक वर्ष ०७२/७३ मा भने ७४/५७ प्रतिशत पुगेको थियो । जसको तुलनामा पछिल्लो दुई वर्षमा सफलता घटेको छ । महान्यायाधिवक्ता कार्यालयले गत सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो प्रतिवेदन बुझाएको थियो, जसमा अपेक्षित रूपमा फौजदारी मुद्दामा सफलता प्राप्त गर्न नसकिएको उल्लेख छ । यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  २ : ०० बजे