२५ बर्षदेखि अस्थायी रूपमा कार्यरत शिक्षक स्थायी बन्ने



काठमाडौं चैत, १–
अढाई दशकभन्दा बढी अस्थायी रूपमा कार्यरत शिक्षक स्थायी बन्ने भएका छन् । शिक्षक सेवा आयोगले तीनै तहमा कार्यरत अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न सुरु गरेको छ ।

२०५६ सालमा स्थापना भएयता आयोगले यसपालि एकै वर्ष करिब २७ हजार शिक्षक पदपूर्ति प्रक्रिया अघि बढाएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

तीनवटै तहका गरी करिब १३ हजार अस्थायीका साथै १२ हजार ७ सय ३९ पदमा खुला प्रतिस्पर्धाबाट स्थायी हुँदै छन् ।

पदपूर्ति प्रक्रियालाई तहगत आधारमा २०४९ सालअघि, ०६१ सालअघि र २०७२ सालअघि गरी तीन फरक समूहमा अस्थायीलाई प्रतिस्पर्धा गराइएको छ । हालै मात्र प्रकाशित निम्न माध्यमिक तहको शिक्षक परीक्षामा १ हजार ९ सय ९ जना उत्तीर्ण भएका छन् ।

तीमध्ये ५१ जना २०४९ सालअघि र ८ सय ५९ जना ०६१ साल अघिदेखि अस्थायी छन् । उत्तीर्ण भएका शिक्षकहरू नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, गणित विज्ञान र कम्प्युटर विषयका हुन् ।

सबैभन्दा धेरै अस्थायी शिक्षक प्राथमिक तहमा छन् । प्राथमिक र माध्यमिक तहको नतिजा प्रकाशनक्रममा छ । ‘आयोगले विभिन्न तह, खण्ड र विषयगत गरी दुई सयभन्दा बढी विज्ञापनको पदपूर्ति गर्दै छ,’ आयोगका प्रशासकीय प्रमुख डा। तुलसी थपलियाले भने, ‘मावि र प्राविको नतिजा प्रकाशन गर्न अझै केही समय लाग्छ ।’

शिक्षक सेवा आयोगले यही आर्थिक वर्षभित्र अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को परीक्षा लिएर नतिजा प्रकाशन गर्ने तयारी गरेको छ ।

प्राविधिक कारणले २०६८ सालदेखि रोकिएको प्राथमिक तहको शिक्षक लाइसेन्ससमेत खुलाउने आयोगले जनाएको छ । शिक्षा ऐनमा विद्यालयलाई आधारभूत र माध्यमिक गरी दुई तह मात्र कायम गरिएपछि प्राथमिक शिक्षकका निम्ति लाइसेन्स रोकिएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  २ : २० बजे