काठमाडौं चैत, ५–
अवैध रूपमा सुन विदेश लैजान सक्रिय चारजना पक्राउ परेका छन् । महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ क्षेत्रबाट चितवनका सुनिल राउत, बाराका सन्दीप पटेल, मकवानपुरका अर्पण केसी र खोटाङका मनोज राई सोमबार साँझ सुनसहित पक्राउ परेका हुन्।
प्रहरीले पक्राउ परेकामध्ये राउत र पटेलबाट १० लाख १५ हजार मूल्य पर्ने चार थान सुनको ठूलो बाला, केसी र राईबाट १७ लाख ४६ हजार मूल्य बराबरको पाँचथान सुनको ठूलो बाला, तीन वटा मोबाइल र ल्यापटप बरामद गरेको छ।
पक्राउ परेका चारै जनालाई सुन र सामानसहित आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।