सुगम नै पहिलो रोजाईमा समायोजनमा परेका कर्मचारीको



काठमाडौं चैत, ९–
समायोजनपछि ‘गाउँका सिंहदरबार’ सरकारी कर्मचारीले भरिभराउ हुन्छन्, विकास निर्माण र सेवा प्रवाहले गति लिन्छ भन्ने धेरैको आस थियो। तर यतिबेला दुर्गमका स्थानीय सरकारका लागि कर्मचारी समायोजन ‘हात्ती आयो हात्ती आयो फुस्सा’ जस्तै भएको छ। दुर्गममा कर्मचारी थपिनु त परै जाओस्, भएका कर्मचारीसमेत अन्यत्र सरुवा भएपछि गाउँका बासिन्दा निरास बनेका छन्। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

सीमित कर्मचारीको भरथेगमा चलेका स्थानीय निकायको सेवा प्रवाह ठप्प हुने अवस्था आएको छ। पहाडी र हिमाली क्षेत्रका दुर्गम गाउँपालिका कर्मचारीविहीन हुने अवस्थामा छन्।

अछामको तुर्माखाँड गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले कर्मचारी समायोजन पहाडी र हिमाली जिल्लाका स्थानीय तहका लागि अभिसाप बनेको बताए। तुर्माखाँड गाउँपालिकाका कर्मचारी सुगममा सरुवा भएका छन्। ‘एकमात्र सचिव बचे। भेटनरी, महिला बालबालिका, कृषि, शिक्षाका कोही आएनन्,’ शर्माले भने, ‘भएका सरुवा भएर जाने, नयाँ नियुक्ति नहुने अवस्था छ। न स्थायी पठाउँछन् न गाउँपालिकालाई करार र ज्यालादारीमा कर्मचारी राख्न दिन्छन्।’

कर्मचारी समायोजनले स्थानीय तहमा थप जटिलता थपेको उनको भनाइ छ। ‘पहाडी र हिमाली जिल्लामा कर्मचारी आउनै मान्दैनन्। गाउँमै सिंहदरबार आयो कसरी भन्नु रु ’ अध्यक्ष शर्माले भने, ‘कर्मचारीलाई के खोज्छस् काना आँखाजस्तै भएको छ, जनतामा निराशा र कुण्ठा थपिँदै गएको छ।’

तिला गाउँपालिका जुम्लाका अध्यक्ष रतन योगीले कर्मचारी समायोजनले बिजोग बनाएको बताए। ९ वटा वडा रहेको तिला गाउँपालिका समायोजनपछि चारजना कर्मचारीले धान्नुपर्ने अवस्था आएको छ। अध्यक्ष योगीका अनुसार एक वडा सचिव र एक नायब सुब्बाले मात्रै तिला गाउँपालिका रोजेका छन् भने प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत केन्द्रबाट जान्छन्। ‘बरु समायोजन नगरेको भए हुन्थ्यो’, उनले भने, ‘ स्थानीय तहमा वृत्ति विकास हुँदैन भनेर कर्मचारीले संघ र प्रदेश रोजे।’

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  १ : २८ बजे