मर्यादाक्रमप्रति नेपाली सेनाको आपत्ति



काठमाडौं चैत, ९–
पछिल्लो मर्यादाक्रमप्रति नेपाली सेना असन्तुष्ट भएको छ। गृह मन्त्रालयले सेनाको अधिकृत तहलाई अन्य सुरक्षा निकायका अधिकृत र निजामती अधिकृतभन्दा तल राखेर नयाँ मर्यादाक्रम जारी गर्न लागेपछि सेनाले असन्तुष्टि जनाएको हो। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

प्रस्तावित मर्यादाक्रममा नेपाल प्रहरीको निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृतभन्दा उपसेनानी पछाडि छन्। सहसेनानीलाई सरकारको शाखा अधिकृत एवं तृतीय श्रेणी वा सोसरहको अधिकृतभन्दा तल राखिएको छ।

यसले गर्दा विपत् व्यवस्थापन तथा अन्य सहकार्यमा संयुक्त फौज परिचालनमा असहज हुने सेनाको ठहर छ। सेनाले सरकारसमक्ष मर्यादाक्रममा सेनालाई तल पार्नुको कारण सोधेको छ। सैन्य अनुशासनमा बसेर अध्ययन गरेकालाई पछाडि पार्न नमिल्ने तर्क नेपाली सेनाको छ।

इन्टरमिडियट उत्तीर्ण गरेपछि सेकेन्ड लेफ्टिनेन्ट ९सहायक सेनानी० मा प्रतिस्पर्धा गर्न पाइन्छ। त्यसरी प्रवेश गरेका सेनाले भित्रै पढ्न र सैनिक तालिम लिन पाउँछन्। तर नेपाल प्रहरी वा सशस्त्रको निरीक्षकमा जागिर खान स्नातक उत्तीर्ण गर्नैपर्छ। त्यसैले प्रहरी निरीक्षकलाई मर्यादाक्रममा माथि राखिएको गृह मन्त्रालयका अधिकारीहरूले बताए। नेपाल सरकारका अधिकृत पनि स्नातक गरेरमात्र सेवा प्रवेश गर्छन्।

सैनिक प्रवक्ता यामप्रसाद ढकालले मर्यादाक्रममा केही परिवर्तन भएको भन्ने जानकारी पाएपछि रक्षा मन्त्रालयमार्फत जिज्ञासा राख्ने तयारी गरेको बताए। ‘पुरानो मर्यादाक्रम ठिकै थियो। त्यसलाई चलाएको हो भने हाम्रो नेतृत्वले पक्कै छलफल गर्नुहोला। यस विषयमा म बुझेर मात्र खबर गर्न सक्छु।’

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  १ : ४२ बजे