चीन सरकारले दियो सिनोफार्मको खोपलाई अनुमति



बेइजिङ, १६ पुस (रासस–एएफपी) – चीन सरकारले सिनोफार्म कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई “सःशर्त” अनुमति दिएको छ । चिनियाँ कम्पनी सिनोफार्मका अनुसार यो खोपको प्रभावकारिता ७९ प्रतिशत छ ।

सिनोफार्मको खोपलाई अनुमति दिएसँगै एसियामा फैलिएको कोरोनाभाइरसको प्रभाव घटाउन यो खोप महत्वपूर्ण पाइला हुने चिनियाँ अधिकारीहरुले बताएका छन् ।

यसअघि नै सिनोफार्मद्वारा तयार पारिएको कोभिड विरुद्धको खोप आपतकालीन प्रयोग अन्तर्गत ४५ लाख चिनियाँ नागरिकलाई दिइसकिएको छ । खोप दिइएकाहरुमा खासगरी स्वास्थ्यकर्मी र विदेशमा काम गर्न जाने चिनियाँ नागरिक रहेका चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

बुधबार मात्र सिनोफार्मले आफूले विकास गरेको खोप ७९ दशमलब ३४ प्रतिशत सफल रहेको घोषणा गरेको थियो ।

पश्चिमा मुलुकका फर्मास्यूटिकल कम्पनीहरु फाइजर र मोडर्नाले विकास गरेका खोपहरु क्रमशः ९५ र ९४ प्रतिशत सफल रहेको दाबी गरिएको थियो ।

प्रकाशित मिति : पुस १६, २०७७ बिहीबार  ८ : ४१ बजे