मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माधव नेपाल पक्ष सहभागी होला देउवा सरकारमा ?



प्रतिनिधिसभाबाट आइतबार विश्वासको मत पाएका प्रधानमन्त्री शेरबहादुर देउवाले अब मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन्। सत्ता गठबन्धनमा आबद्ध दलहरूसँगको परामर्शमा प्रधानमन्त्री देउवाले छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका हुन्।

गठबन्धन दलहरूबीच मन्त्रिपरिषद् विस्तार र सरकारको प्राथमिकताका विषयमा सैद्धान्तिक सहमति भएको जनाउँदै देउवा निकट एक नेताले भने, ‘अब विलम्ब नगरी मन्त्रिपरिषद् विस्तार गरेर सरकारले काम थाल्नेछ।’

कुन दलले कतिकति र कुनकुन मन्त्रालय लिने भन्ने टुंगो नलागे पनि यसमा ठूलो विमति नरहेको दाबी नेताहरूको छ। अर्थ र ऊर्जासहित माओवादी केन्द्र असार २९ गते नै सरकारमा सहभागी भइसकेको छ। सत्ता साझेदार दलहरूबीचको सहमतिमा माओवादीले पाउने थप मन्त्रालय तोकिनेछ।

सत्ता गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने भएको छ। एमाले माधवकुमार नेपाल पक्षलाई पनि प्रधानमन्त्री देउवाले सरकारमा सहभागी गराउन चाहेका छन्। तर नेपाल पक्ष सरकारमा सहभागी हुनेनहुने अझै निश्चित भइनसकेको स्रोतको दाबी छ।

पाँचदलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा पनि सरकारमा सहभागी हुने जनाइएको छ। प्रतिनिधिसभा विघटन गर्ने पूर्ववती ओली नेतृत्वको सरकारको निर्णय बदर गर्दै सर्वोच्च अदालतले असार २८ गते नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। सोहीअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले २९ गते देउवालाई प्रधानमन्त्री नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएकी थिइन्।

सोही दिन देउवाले आफ्नै पार्टी कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की तथा माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा सहभागी गराएका थिए। नागरिक दैनिकमा खबर छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ९ : ३६ बजे