मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

५० रुपैयाँमै पेटभरी खाना



वीरगन्ज महानगरपालिका–३१ लालपर्साका ३० वर्षीय विजय रामले शनिबार वीरगन्जस्थित एक होटलमा पेटभरि खाना खाए । त्यो पनि निःशुल्क ।

सामाजिक संस्था सानो पाइलाले वीरगन्ज १२ मुर्लीमा शनिबारदेखि सञ्चालनमा ल्याएको ‘भरपेट भोजनालय’ मा उनले दाल, भात, दुईथरी तरकारी र अचार तृप्त हुने गरी खाए ।

खाना खाएको पैसा लाग्दैन भन्ने थाहा पाएपछि राम छक्क परे । दैनिक ज्यालामजदुरी गर्न वीरगन्ज आउने गरेका रामले भोजनालयको उद्घाटनका दिन भएकाले निःशुल्क खाना पाएका हुन् ।

आइतबारदेखि उनले यति खानाको ५० रुपैयाँ मात्र तिर्नुपर्नेछ । ‘यत्तिको खाना वीरगन्जका होटलमा १ सय २० घटीमा पाइँदैन,’ उनले भने, ‘५० रुपैयाँमा पेटभरि खान पाएपछि हामी मजदुरलाई के चाहियो र ।’

विजय राम जस्ता करिब २ सय ५० जनाले शनिबार यो भोजनालयमा निःशुल्क खाना खाए । आइतबारदेखि उनीहरूले पेटभरि खाना केवल ५० रुपैयाँमा पाउनेछन् । भोजनालय सञ्चालक संस्था सानो पाइलाका कार्यक्रम तथा सेवा प्रमुख रौनकराज सर्राफले सुपथ मूल्यमा पौष्टिक खाना खुवाउने संस्थाको परिकल्पना शनिबार यथार्थमा बदलिएको बताए ।

‘विशेषगरी वीरगन्ज महानगरभित्र दैनिक श्रम गरेर खाने कामदार वर्गलाई लक्षित गरेर भोजनालय सञ्चालन गरेका हौं,’ उनले भने, ‘यहाँ श्रमिकबाहेक अन्यले पनि भोजन गर्न सक्नेछन् ।’ स्वस्थ, सन्तुष्ट र सक्षम समुदाय निर्माणमा सघाउ पुगोस् भन्ने उद्देश्यले यो भोजनालय सुरु गरेको उनले बताए ।

संस्थाले कोरोनाको पहिलो लहरमा समेत गरी वीरगन्जलगायत विभिन्न सहरमा ‘फिडिङ नेपाल क्याम्पियन’ मार्फत १ लाख ५० हजार जनालाई निःशुल्क खाना खुवाएको सर्राफले बताए । हाल सञ्चालित भोजनालय सञ्चालनमा अमेरिकी संस्था भिजा फाउन्डेसनको सहयोग रहेको छ ।

‘भिजा फाउन्डेसन हामीले कोरोनाकालमा गरेको कामले प्रभावित भएको रहेछ,’ उनले भने, ‘हाल भने पोस्ट कोभिडको अवस्थामा विपन्न तथा मजदुर वर्गलाई लक्षित गरेर यसरी सुलभ मूल्यमा खाना खुवाउने व्यवस्था गर्न सोही संस्थाले प्रेरित गरेको हो ।’

भोजनालयको संविधानसभा सदस्य अनिल रुंगटाले उद्घाटन गरे । उनले न्यून शुल्कमा भरपेट भोजन सेवा प्रदान गर्ने भोजनालयको उद्देश्यको प्रशंसा गरे । संस्थाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत कञ्चन झाले कोरोना संक्रमणको पहिलो लहरमा संस्थाले सञ्चालन गरेको फिडिङ नेपाल अभियानको विस्तारित स्वरूप भरपेट भोजनालय रहेको बताए ।

अब विपन्न वर्गहरूले भोजनमा न्यून खर्च गरी कुल आम्दानीबाट बचत गरेको रकम शिक्षा र स्वास्थ्यमा खर्चिन सक्ने उनको भनाइ छ । उनले भोजनालयबाट विपद्का बेला निःशुल्क भोजन सेवा उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ९ : ५४ बजे