माओवादी मन्त्रीहरु अब पार्टिको नियन्त्रणमा : सरकार सञ्चालनका लागि पार्टीभित्र छुट्टै कमिटी बन्ने



नेकपा (माओवादी केन्द्र)को आज बसेको स्थायी समितिको बैठकमा प्रभावकारी सरकार सञ्चालनका लागि पार्टीभित्र छुट्टै कमिटी बनाउने छलफल भएको छ ।

उक्त कमिटीको सुझावका आधारमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले काम गर्नुपर्नेछ । उक्त कमिटीले मन्त्रीका कामको अनुगमन, मूल्याङ्कन गर्नुका साथै जनपक्षीय काम गर्न प्रोत्साहन गर्नेछ । ‘सोमबारको बैठकमा सरकार सञ्चालनका लागि कमिटी बनाउने प्रस्ताव नआएपनि मंगलबारको बैठकमा आउने र निर्णय गर्ने सम्भावना रहेको छ’, सो पार्टीका स्थायी कमिटी सदस्य गणेश साहले भने, ‘तीनदेखि पाँच सदस्यीय बन्ने सम्भावना छ ।’

आजको बैठकमा पार्टीको आगामी सम्मेलनका बारेमा छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।“पार्टीको राष्ट्रिय सम्मेलन, प्रदेश तथा स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण तथा विभाग गठनका बारेमा बैठकमा विषय प्रवेश भएको छ”, उनले भने । बैठकमा पार्टी सुदृढीकरणका विषयमा छलफल भए पनि निष्कर्षमा नपुगेको र भोलि बिहान ८ बजे पुनःस्थायी समिति बैठक बस्ने उनले जानकारी दिए ।

पार्टी एकतामा आएका सबै सहयोद्धाको जिम्मेवारीसम्बन्धी एजेण्डा बैठकमा प्रवेश भएको र भोलि निर्णय हुने उनले ब ताए । पार्टी एकढिक्का भएर मुलुक र जनताका पक्षमा उभिएको तथा पार्टीभित्र कुनै खटपट नरहेको उनले प्रष्ट पारे । “बैठकमा सबै विषयमा खुलारुपमा छलफल भएको छ, निर्णय मात्र हुन नसकेको हो”, उनले भने ।

प्रकाशित मिति : कार्तिक १, २०७८ सोमबार  ३ : ३६ बजे