कांग्रेस सुधारको बाटोमा अगाडि बढेको छ : वरिष्ठ नेता पौडेल



नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सुधारको बाटोमा अगाडि बढेको बताएका छन् ।नेपाली कांग्रेस भिमाद नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले कांग्रेस सुधारको बाटोमा अगाडि बढ्न खोजेको आभाष हुन थालेको बताए ।

“कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत देशभर महाअभियान चलिरहेको छ,” वरिष्ठ नेता पौडेलले भने, “कांग्रेसमा लहर आएको छ, यसले नेपालमा लोकतन्त्रको भविष्य सुनिश्चित छ भन्ने आभाष हुन थालेको छ ।”

उनले तल्लो तहबाटै कांग्रेसमा आकर्षण बढेको उल्लेख गर्दै कांग्रेसलाई सुधार र सिद्धान्तको बाटोमा अगाडि बढाउने सङ्कल्प देखा परेको बताए । वरिष्ठ नेता पौडेलले भने, “सुदूरपश्चिमदेखि पूर्वसम्म, हिमालदेखि तराईसम्म कांग्रेसमा नयाँ जागरण देखा परेको छ । यसले निश्चय नै नेपालको राजनीति, लोकतान्त्रिक मान्यता र परिवर्तनलाई संस्थागत गर्न सहयोग पुग्छ ।”

उनले दुई तिहाइ मत प्राप्त कम्युनिष्ट पार्टी विभाजित भएपनि कांग्रेस त्यत्तिकै ढुक्क हुने अवस्था नरहेको बताए । “कांग्रेसको प्रमुख विपक्षी कम्युनिष्ट पार्टी हो,” उनले भने, “अरू फुटे भनेर हामी रमाउने होइन, हामीले आफ्नो सङ्गठन बलियो बनाउनुपर्छ । हामी आफैँमा सजग र प्रतिबद्ध भएर अगाडि बढ्नुपर्छ ।”

तनहुँका दसवटै पालिकाबाट विजयी भएर आएका सबै नेता तथा कार्यकर्तामा आफ्नो अनुहार देखेको भन्दै वरिष्ठ नेता पौडेलले यो वा त्यो भनेर कित्ता छुट्याउन नहुनेमा जोड दिए । “कांग्रेसलाई लोकतान्त्रिकरण र रूपान्तरण गर्ने उत्साह लिएर निर्वाचित भएर आएका सबैमा मैले मेरो अनुहार देखेको छु,” उनले भने । रासस

प्रकाशित मिति : कार्तिक ४, २०७८ बिहिबार  ४ : २१ बजे