अदालतबारे जे पायो त्यही नबोल्न ओलीलाई प्रधानमन्त्री देउवाको चेतावनी



प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयमाथि उठेका सवालमा पाँच दलीय गठबन्धनमा छलफल हुने बताएका छन्।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बुधबार तरुण दलको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले न्यायालयका विषयमा राजनीतिक दलले बोल्नु धेरै आवश्यक नभएकोसमेत बताए।

प्रधानमन्त्री देउवाले परमादेशको सवाललाई उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश समेत व्यक्त गरे ।देउवाले अदालतबारे जथाभावी नबोल्न ओलीलाई चेतावनी समेत दिएका छन् ।

‘हाम्रो पाँच पार्टीको गठबन्धन छ, अदालतका विषयमा उठेका सवालहरू छन्, न्यायालयका सम्बन्धमा सरसल्लाह गरेर जान्छौँ, धेरै कुरा गर्नु छैन,’ प्रधानमन्त्री देउवाले भने।परमादेशको विषय उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने जस्ता गैर जिम्मेवार अभिव्यक्ति विपक्षी दलका नेता केपी ओलीले दिएको भन्दै देउवाले जथाभाबी बोल्नु आवश्यक नरहेको तर्क गरे।

‘परमादेश ल्याउने सबैलाई हटाउनु पर्दछ भन्ने गैर जिम्मेवार कुरा गर्नु उचित हुँदैन जस्तो लाग्दछ मलाई,’ प्रधानमन्त्री देउवाले भने।उनले परमादेशले संविधान, राष्ट्र र प्रजातन्त्रलाई बचाएको दाबीसमेत गरे। देउवाले अदालतमा देखिएको समस्या समाधान गर्ने काम अदालतकै भएको भन्दै अदालतका विषयमा धेरै बोल्नु आवश्यक नहुने बताए।

एमालेको नगर अधिवेशनलाई सम्बोधन गर्दै मंगलबार ओलीले परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा गर्नुपर्ने बताएका थिए ।

 

 

 

 

प्रकाशित मिति : कार्तिक १०, २०७८ बुधबार  १ : ५६ बजे