कांग्रेस १४औँ महाधिवेशनको नयाँ कार्यतालिका १३ जिल्लामा वडा अधिवेशन २७ कार्तिकबाट



नेपाली कांग्रेसले वडा अधिवेशन गर्न बाँकी १३ जिल्लामा २७ कार्तिकबाट वडा अधिवेशन शुरु गर्ने गरी नयाँ कार्यतालिका बनाएको छ।निर्वाचन समितिको बुधबार बसेको बैठकले रोकिएका वडा अधिवेशन कात्तिक २७ देखि थालेर मंसिर २७ देखि केन्द्रीय महाधिवेशन गर्ने नयाँ कार्यतालिका बनाएको हो ।

निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार १३ जिल्लामा वडा अधिवेशनको प्रक्रिया २७ कार्तिकबाट शुरु हुने भएको हो। यो प्रस्ताव निर्वाचन समितिले पार्टी समक्ष गर्ने छ।

बुधबार बसेको निर्वाचन समितिको बैठकको निणर्य अनुसार कात्तिक २७ गते वडामा, मंसिर ३ गते प्रदेशसभा निर्वाचन क्षेत्रमा, मंसिर ६ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा, मंसिर १० गते जिल्ला अधिवेशन र मंसिर १६ र १७ गते प्रदेशमा अधिवेशन गर्ने निर्णय गरेको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । एको छ।यी सबै मिति अधिवेशन हुन बाँकी सबै जिल्लामा एकरुपताका साथ लागू गरिने समितिका संयोजक यादवले जानकारी दिए।

प्रदेश २ का आठ जिल्ला सप्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरीसहित सुर्खेत, डोल्पा, कैलाली, रसुवा र बाँके गरी १३ जिल्लामा कांग्रेसले अझै वडा अधिवेशन गर्न सकेको छैन। तीमध्ये रसुवा र रौतहटको क्रियाशील सदस्यतासमेत टुंगो लाग्न बाँकी छ।

यस्तै १६ र १७ मंसिरमा सात वटै प्रदेशमा अधिवेशन गर्ने गरी मिति तय गरिएको छ।केन्द्रीय महाधिवेशन भने २७ मंसिरबाट २९ गतेसम्म गर्ने गरी कार्यतालिका बनाइएको छ।

प्रकाशित मिति : कार्तिक ११, २०७८ बिहिबार  ८ : ३० बजे