साढे चार सय महाधिवेशन प्रतिनिधि थप्ने एमालेको निर्णय



नेकपा एमालेको केन्द्रीय समिति बैठकले साढे चार सय महाधिवेशन प्रतिनिधि थप्ने निर्णय गरेको छ ।बिहीबार बसेको स्थायी कमिटीले १५ सय ३६ प्रतिनिधि चयन गर्ने निर्णयसहित गरेको प्रस्तावमा आज बसेको केन्द्रीय समितिमा छलफल भएको थियो । छलफलमा केन्द्रीय सदस्यहरुले बढाउनुपर्ने सुझाव राखेपछि ४६३ प्रतिनिधि थपिएको हो ।

थपिएको संख्यासँगै प्रतिनिधिको संख्या १ हजार ९९९ पुगेको छ ।‘स्थायी कमिटीबाट १५ सयभन्दा बढी प्रतिनिधि प्रस्ताव भएको थियो,’ प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘केन्द्रीय सदस्यहरुले बढाउनुपर्छ भनेर सुझाव दिनुभएको छ । सुझावअनुसार प्रतिनिधि संख्या अब १ हजार ९९९ हुनेछ । करिब ४ सय बढी सदस्य थप्ने निर्णय भएको छ ।’

यस्तै बैठकले महाधिवेशन मूल व्यवस्थापन समितिमा दुई जना सदस्य थपेको छ ।शुक्रबार बसेको केन्द्रीय समिति बैठकले स्थायी कमिटी सदस्य रघुजी पन्त र केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई मूल व्यवस्थापन समितिमा थप्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

‘स्थायी कमिटीबाट प्रस्ताव गरेअनुसार १०औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिमा दुई जना सदस्य थपेर २३ सदस्यीय बनाएको छ,’ ज्ञवालीले भने ।स्थायी कमिटी सदस्य रामबहादुर थापा बादल नेतृत्वको मूल व्यवस्थापन समितिमा सुरेन्द्र पाण्डे सहसंयोजक छन् । समितिले नारायणी नदी किनारमा महाधिवेशन खुला सत्र गर्ने र सौराहमा बन्द सत्र गर्ने तय गरेको छ ।

प्रकाशित मिति : कार्तिक १२, २०७८ शुक्रबार  ६ : ३८ बजे