राष्ट्रपति भण्डारीको भाइटीका सम्पन्न (फोटोफिचर)



राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीका लगाइदिएकी छिन् । भण्डारीले भाइटीकाका अवसरमा शनिबार बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा आफ्ना कान्छो भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिएकी छिन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो र मखमलीयुक्त माला लगाई कटुस, ओखर र मिठाई खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन् । उनले नेपाली ढाकाटोपी लगाएर भाइलाई उपहार प्रदान गरिन् । भाइ पाण्डेले यथाशक्य दक्षिणा प्रदान गरेर राष्ट्रपतिबाट आशीर्वाद लिए ।

त्यसअघि राष्ट्रपति भण्डारीले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यम यमुनाको पूजा अर्चना गरेकी थिइन् । त्यसैगरी राष्ट्रपति भण्डारीले बहिनी सुशीला पाण्डेलाई पनि टीका लगाई दुबो, मखमली, सयपत्री र गोदावरी फुलको माला लगाइदिएकी थिइन् ।

प्रकाशित मिति : कार्तिक २०, २०७८ शनिबार  ५ : ०९ बजे