१ मंसिर विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर–१ संसदीय दलका नेता राजीव कोइरालाले सातै प्रदेशमा किन सरकारहरू परिवर्तन भए भन्ने विषयमा जनता जानकार रहेको बताएका छन् ।
उनले वि।सं २००३ सालदेखि नै प्रजातान्त्रिक आन्दोलन भएको तर त्यहीअनुरूप उपलब्धि प्राप्त भए पनि रक्षा गर्न जहिल्यै हम्मेहम्मे भएको बताए । प्रदेशसभाको बुधबारको बैठकमा बोल्दै कोइरालाले भने, “अब त चेत खुल्यो होला भनेको तर चेत त जहीँको त्यहीँ रहेछ । खालि संघीय लोकतान्त्रिक गणतन्त्र मात्र घोषणा भएको रहेछ । के कारणले मुलुकमा समस्या आइरहन्छ रु संविधान रक्षाको लागि सातै प्रदेश र केन्द्रमा गठबन्धन बनेको हो ।” कोइरालाले दलहरू संविधान र प्रजातन्त्रको जर्गेनाको खातिर जहिल्यै एकै ठाउँमा रहेको स्पष्ट गरे ।
उनले जनादेश विपक्षमै बस्न भनेर दिए पनि अहिलेको परिस्थित केपी शर्मा ओलीकै कारण आएको भन्दै उनले गठबन्धन अगाडि बढ्ने बताए । “त्यति सजिलै संसद् विघटन गर्ने प्रावधान थिएन । गणतन्त्रसँगै सुधारिएको बहुलवाद हो । संयुक्त आन्दोलनले बहुदलीय व्यवस्थामा भएका त्रुटि सच्याउनकै लागि गणतन्त्र ल्याएको थियो,” उनले भने, “संसद्लाई विसंगतिबाट बचाउनको लागि नै संविधान निर्माण गरिएको थियो । तर, पटक–पटक विघटन गरियो । दुुईपटक विघटन र दुईपटक पुनःस्थापित भयो, त्यसलाई दलले प्रतिगमन भनेर बुझेको छ ।”










