उपराष्ट्रपति ह्यारिस बनिन् अमेरिकी राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला



कमला ह्यारिस अमेरिकाको कार्यबाहक राष्ट्रपति बन्ने पहिलो महिला भएकी छन् ।जो बाइडेनले शुक्रबार आफ्नो राष्ट्रपतीय अधिकारी केही समयका लागि सुम्पेपछि ह्यारिस अमेरिकाको कार्यबाहक राष्ट्रपति बनेकी हुन् । नियमित कोलोनोस्कोपीका क्रममा अस्पताल भर्ना भएका बाइडेनले छोटो समयका लागि अर्थात् आफू एनेस्थेसियाको प्रभावमा भइन्जेलसम्मका लागि ह्यारिसलाई आफ्नो अधिकारी सुम्पेका थिए ।

शनिबार ७९ औं जन्मदिन मनाउनुपूर्व नै बाइडेनले कोलोनोस्कोपी गर्न शुक्रबार बिहानै वाल्टर रीड मेडिकल सेन्टर पुगेका थिए ।

बाइडेनको कोलोनोस्कोपीका क्रममा ह्यारिसले ह्वाइट हाउसको वेस्ट विङस्थित आफ्नो कार्यालयबाट कार्यबाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी थिइन् । यस क्रममा छोटो समयका लागि अमेरिकी सेना र आणविक हतियार उनको नियन्त्रणमा आएको थियो ।

सन्ताउन्न वर्षीय ह्यारिस अमेरिकाकी पहिलो निर्वाचित महिला उपराष्ट्रपति हुन् । यति मात्रै होइन, उनी पहिलो अश्वेत र दक्षिण एसियाली मूलकी पहिलो राष्ट्रपति समेत हुन् ।अमेरिकामा एनेस्थेसिया दिएर गरिने उपचारका क्रममा राष्ट्रपतिको अधिकार उपराष्ट्रपतिले प्रयोग गर्न पाउने व्यवस्था छ । यसअघि जर्ज डब्लू बुसले कोलोनोस्कोपीका क्रममा डिक चेनीलाई २००२ र २००७ मा राष्ट्रपतीय अधिकारी सुम्पेका थिए । तर सन् २०१९ मा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उप(राष्ट्रपति माइक पेन्सलाई राष्ट्रपतीय अधिकारी सुम्पन नपरोस् भनेर वाल्डर रीडमा सुटुक्क कोलोनोस्कोपी गरेको समाचार बाहिर आएको थियो ।

प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार  १० : १५ बजे