नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशमा वडादेखि प्रदेश कार्यसमितिसम्मका अधिवेशन सम्पन्न भई नेतृत्व चयन भएको छ । केन्द्रीय महाधिवेशनको मिति नजिकिँदै गर्दा गण्डकी प्रदेश कार्यसमितिको निर्वाचनसमेत सम्पन्न भइसकेको अवस्थामा यतिखेर नेता तथा कार्यकर्ताको आँखा काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनमा परेको छ ।हिमालपारीका जिल्ला मनाङ र मुस्ताङसहित ११ जिल्लासम्म समेटिएको यो प्रदेशले उत्तरमा कोरला नाकाले चीनलाई छोएको छ भने दक्षिणमा त्रिवेणी नाकाले भारतलाई छोएको छ ।
हिमालदेखि पहाड हुँदै तराईलाई समेटेको यस प्रदेश राजनीतिक रुपमा पनि त्यत्तिकै चासो र चर्चामा छ । राजनीतिक चेतनाका दृष्टिले पनि यस प्रदेशले नेपालको समग्र राष्ट्रिय राजनीतिमा राम्रो छाप पारेको छ । प्रदेशका ११ वटै जिल्लामा पार्टीका युवा तथा पाका दुबै किसिमका नेताले आगामी कार्यकालका लागि नेतृत्व गर्ने जिम्मेवारी पाएका छन् । पार्टीको प्रदेश कार्यसमितिका सभापतिमा पाका नेता शुक्रराज शर्मा विजयी बन्नुभएको छ । एघार जिल्लामध्ये कास्कीमा किशोरदत्त बराल, स्याङ्जामा राजु थापा, बागलुङमा जीत शेरचन, तनहुँमा जीतप्रकाश आले, लमजुङमा डा: टंकराज गुरूङ, मनाङमा शङ्कर गुरूङ, पर्वतमा युवराज जोशी र म्याग्दीमा खमबहादुर गर्बुजा, मुस्ताङमा रोमी गौचन थकाली र गोरखामा नन्दप्रसाद न्यौपाने सभापति पदमा निर्वाचित बन्नुभएको छ । नवलपुरमा भने पार्टीको जिल्ला अधिवेशन नै हुनसकेको छैन ।
नेपाली कांग्रेसमा युवाको आकर्षण बढिरहेको बताउनुहुने नवनिर्वाचित प्रदेश सभापति शर्मा पार्टी सङ्गठनलाई थप सशक्त बनाउनका लागि वडा तहसम्मका निर्वाचित प्रतिनिधिलाई चाँडै नै प्रशिक्षण दिइने बताउनुहुन्छ । पार्टीमा नेतृत्वदायी भूमिकामा रहनेले जनताको विश्वास जित्नुपर्नेमा जोड दिँदै उहाँ राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल मर्मलाई आत्मसात् गर्दैे वडादेखि केन्द्र तहसम्मको नवनिर्वाचित नेतृत्व देश र जनताको हितमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुहुन्छ ।प्रशिक्षणबाट संस्कारी कांग्रेस निर्माणका लागि गण्डकी प्रदेशबाट हामीले अभियान थाल्नेछौ सभापति शर्मा भन्नुहुन्छ, “पुराना त्यागी नेताको उचित मूल्याङ्कन एवं सम्मानका साथै नयाँ युवाको जोस् र जाँगरलाई मिलाएर आम जनताले भरोसा गर्ने पार्टीका रुपमा कांग्रेसलाई स्थापित गर्नुपर्छ ।
पार्टीकोे १४औँ महाधिवेशनअन्तर्गत यस प्रदेशमा वडादेखि प्रदेश कार्यसमितिसम्मका नेतृत्व चयन हुँदै गर्दा युवाको उत्साहपूर्ण सहभागितासँगै उनीहरू नेतृत्वदायी भूमिकामा समेत पुगेको पार्टीका जिल्ला सभापति किशोरदत्त बराल बताउनुहुन्छ । पार्टीमा देखिएको युवाको आकर्षणसँगै उनीहरूलाई प्रशिक्षित गरेर लैजानु वर्तमान समयको आवश्यकता हो”, उहाँ भन्नुहुन्छ, प्रशिक्षित युवाले नै समाज र राष्ट्रको नेतृत्व गर्न सक्दछन् ।” युवाको जोस् जाँगर एवं पाका नेताको अनुभवलाई मिलाएर लैजानुका साथै युवाको आकर्षणलाई व्यवस्थित गर्न सकेमा यसले पार्टीलाई मजबुत बनाउने सभापति बरालको भनाइ छ ।
निर्वाचनमा विजयी हुन पार्टी भित्रका विभिन्न गुट तथा उपगुटमा नेता तथा कार्यकर्ता विभाजित भए पनि आगामी दिनमा निर्वाचित नेतृत्वले सबैलाई मिलाएर लैजानुपर्नेमा तनहुँ क्षेत्र नं २ का नवनिर्वाचित सभापति चुडामणि खनाल बताउनुहुन्छ ।तीनवटै तहका निर्वाचन हुनलागको अवस्थामा पार्टीभित्रको आन्तरिक चुनावमा देखिएका तिक्तता मेट्न पनि तत्काल नेतृत्वतहले पहल गर्नुपर्ने देखिएको छ”, उहाँ भन्नुहुन्छ,“युवाको जोस् र पाका नेताको अनुभवलाई मिसाएर पार्टी सङ्गठनलाई थप क्रियाशील बनाउनुपर्ने वर्तमान नेतृत्वको प्रमुख जिम्मेवारी हो ।
पार्टीको आन्तरिक अधिवेशन भड्किलो बन्दै गएको विषय चुनौतीपूर्ण देखिएको उल्लेख गर्दै सभापति खनाल पार्टी सङ्गठनलाई धनी र पहुँचवालाको मात्र नभइ आम कार्यकर्ताको पार्टी हो भन्ने सुनिश्चित गराउनुपर्ने बताउनुहुन्छ । पार्टीका वडादेखि प्रदेशसम्मका सम्पन्न अधिवेशनमा युवाको उत्साहपूर्ण आकर्षण देखिएको बताउनुहुने क्षेत्र नं २ प्रदेश (क) का सभापति दिनेश आचार्य यो आकर्षणलाई पार्टी नेतृत्वले व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुहुन्छ । कांग्रेसमा देखिएको युवा आकर्षणलाई दृष्टिगत गर्दै उनीहरूको क्षमताको पहिचानसँगै त्यसको व्यवस्थापनमा लाग्नु जरुरी छ, उहाँ भन्नुहुन्छ ,“वर्तमानमा युवालाई उत्पादन एवं आयआर्जनमा जोड्ने गरी पार्टीले पनि कार्यक्रम दिन सक्नुपर्दछ ।










