नेपाली कांग्रेसको १४औँ महाधिवेशबाट निर्वाचित सभापतिसहितका पदाधिकारी र सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । सोहि अबसरमा नवनिर्वाचित सभापतिको प्रमाणपत्र ग्रहण गर्दै शेरबहादुर देउवाले सबैको सभापति आफु नै भएको भन्दै सबैको भावनालाई कदर गर्दै पार्टीलाई चलाउने बताएका हुन् ।देउवाले आफुलाई मत दिने वा नदिने सबैको सभापति आफु नै भएको बताएका छन् ।
साथै उनले पार्टी सञ्चालनमा सहयोग गर्न सबैलाई अपिल समेत गरेका छन् । सभापति देउवाले महाधिवेशनका सबै तीतामिठा क्षण बिर्सेर पार्टीलाई सुदृढ बनाउन सबै सक्रिय हुनुपर्नेमा समेत जोड दिएका छन् । गत मङ्सिर २४ देखि २८ गतेसम्म काठमाडौँमा सम्पन्न कांग्रेस महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका थिए ।
सो अवसरमा उहाँले कांगे्रसको १४औँ महाधिवेशनका क्रममा वडा तहदेखि केन्द्रसम्म भएको प्रजातान्त्रिक प्रक्रिया र प्रयोग नेपालका अन्य पार्टीमा विरलै भएको बताउँदै सच्चा मानेमा कांग्रेस प्रजातान्त्रिक पार्टीका रुपमा स्थापित भएको र जनतामा भिजेको उल्लेख गर्नुभयो । आगामी दिनमा हुने तीनै तहका निर्वाचनमा कांग्रेस विजयी भएर सबैभन्दा ठूलो पार्टी बन्ने उहाँको भनाइ थियो ।
कांग्रेसले सफलतापूर्वक सबै तहका निर्वाचन सम्पन्न गरी सबै संरचनामा तल्लो तहदेखि नै महिलाको सहभागिता सुनिश्चित गरिएको अवगत गराउँदै सभापति देउवाले यस्तो समावेशी व्यवस्था सायदै अरु पार्टीमा नरहेको उल्लेख गर्नुभयो । उहाँले भोलिका दिनमा पार्टीमा महिला मतदाताको सङ्ख्या वृद्धिमा पनि ध्यान केन्द्रित गर्न सबैलाई आग्रह गर्नुभयो ।
देउवाले महिलाका साथै आदिवासी, जनजाति, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यकलगायत सबैको सहभागिता सुनिश्चित गरेर कांग्रेस समावेशी पार्टी बनेको बताउनुभयो । साथै उहाँले विभिन्न चुनौतीका बाबजुद वडातहदेखि केन्द्रसम्मका अधिवेशन सम्पन्न गरेकामा पार्टीको केन्द्रीय निर्वाचन समितिलाई धन्यवाद दिनुभएको थियो ।
समारोहमा महाधिवेशनबाट नवनिर्वाचित १३४ पदाधिकारी र सदस्यलाई समिति संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले निर्वाचित भएको प्रमाण पत्र प्रदान गर्नुभएको थियो । समारोह लगत्तै आजै पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ ।








