वीपीको मेलमिलाप दिवशको अवसरमा ओखलढुंगामा बधाइ तथा सम्मान



नेपाली कांग्रेसका संस्थापक नेता विशेश्वर प्रसाद कोइरालाले मेलमिलापको निति अवलम्बन गरेर नेपाल फर्कनुभएको ४५ बर्ष पुगेको छ । विपीको ४६ औं मेलमिलाप दिवशको अवसरमा नेपाली कांग्रेसले देशभर विविध कार्यक्रम गरी मनाउने परम्परा छ ।

यसै अवसरमा ओखलढुंगामा पनि नेपाली कांग्रेस जिल्ला कार्यसमितिले १४ औ महाधिवेनबाट निर्वाचित केन्द्रीय सदस्य र प्रदेश सदस्यहरुलाई बधाइ तथा सम्मान गरेको छ । नव निर्वाचित जिल्ला समितिको पहिलो कार्यक्रम मेलमिलाप दिवशको अवसरमा राखेर केन्द्रीय सदस्यमा निर्वाचित प्रदीप कुमार सुनुवार, रामहरी खतिवडा, प्रदेश सदस्य कुमार लुइटेल र सविता राइलाई पार्टीले सम्मान गरेको हो ।

लामोसमय सम्म जिल्लाले केन्द्रीय नेतृत्वमा भूमिका नपाइरहेको अवस्था थियो । १४ औं महाधिवेशनबाट ओखलढुंगामा २ जना केन्द्रीय सदस्य प्राप्त भएकोमा जिल्लाकै गौरव बढेको जिल्ला सभापति तेजेन्द्र खनालले बताए । जिल्ला अधिवेशनमा जितेका र पराजय भएका सबै नेताहरुलाई समेटेर आगामी निर्वाचनमा पार्टी जिताउने अभियानमा लाग्न तयार रहेको खनालले प्रतिवद्धता जनाए । कार्यक्रममा गत अधिवेशनबाट निर्वाचित संगैं पराजित नेताहरु समेतको सहभागिता रहेको थियो ।

पार्टीको आन्तरिक लोकतान्त्रीक अभ्यासका रुपमा लिइएको अधिवेशनलाई विजय र पराजय भन्दा पनि जिम्मेवारी प्राप्तीको रुपमा हेरिनु पर्ने जिल्ला सभापतिका प्रत्यासी नेता बालकृष्ण दाहालले बताए । केन्द्र, प्रदेश र जिल्लामा जिम्मेवारी पाउनुहुने सबै विजेताहरुलाई हार्दिक बधाइ दिदै दाहालले आफुपनि पार्टीलाई एकताबद्ध बनाउने अभियानमा संगसंगै हातेमालो गर्ने प्रतिवद्धता जनाए । आफुलाई सहयोग गर्ने नगर्ने कसैविच बैरभाव नराखी आफुले पद नपाउदा पनि सबै नेता कार्यकर्ताको शिर उच्च राखेर उनिहरुलाई उचित सम्मानपूर्ण जिम्मेवारीमा पुर्याउन लागि पर्ने दाहालले विचार व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश समिति सदस्य कुमार लुइटेलले आगामी निर्वाचनमा पार्टीलाई जिताउनका लागि नेताहरु विच आन्तरिक आत्ममिलन हुनुपर्ने हुँदा विपीको मेलमिलाप निति आजपनि सान्दर्भीक रहेको बताए । कार्यक्रमका विशिष्ठ अतिथि एवं नेपाली कांग्रेसका नव निर्वाचित केन्द्रीय सदस्य रामहरी खतिवडाले अधिवेशनका तिक्तताहरु हटाएर पार्टीलाई पूर्नजाग्रित गराउन जिल्ला र केन्द्रको पुलको काम गर्ने धारण राखे । आगामी स्थानीय प्रदेश र संघिय निर्वाचनको तयारी गर्नेसमय आउनै लागेको भन्दै पार्टीको आन्तरिक एकतालाई मजबुद बनाउदै कसैको खोकिलाबाट नेता छान्ने परम्पराको अत्य गर्न आफ्नो तर्फबाट भूमिका खेल्ने खतिवडाले प्रतिवद्धता जनाए ।

विपीको मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं नव निर्वाचित केन्द्रीय सदस्य प्रदीप कुमार सुनुवारले आफ्नो काँधमा ठुलो जिम्मेवारी थपिएको बताए । सबैको माया, सद्भाव र एकताका कारण पाएको केन्द्रीय सदस्यको जिम्मेवारी पार्टी राजनीतिमा सांसद मन्त्री भन्दा ठुलो ठानेर पार्टी हितमा काम गर्ने अठोट व्यक्त गरे । ओखलढुंगा कांग्रेसका लागि एउटा ऐतिहासिक क्षण भएकाले यो अवसरमा जिल्लाका साथिहरुले आफुलाई काम दिनुपर्ने उनको भनाइ छ । सहभागि अन्य बक्ताहरुले पार्टीको आन्तरिक मेलमिलाप नभइरहेको परिवेशमा वीपीको मेलमिलाप निति आजपनि उत्तिकै सान्दर्भीक रहेको बताएका छन् ।

प्रकाशित मिति : पुस १७, २०७८ शनिबार  ११ : २६ बजे