सभापतिले प्रतिस्पर्धी समूहकालाई पनि मनोनीत गर्नुहुन्छ : विश्वप्रकाश शर्मा



नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेर बहादुर देउवाले पार्टीभित्रका सबैलाई मिलाएर लैजाने दाबी गरेका छन् ।इलाम सदरमुकाममा नेपाल प्रेस युनियनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा शर्माले यस्तो दाबी गरेका हुन्।

महामन्त्री शर्माकाे दाबी गरे, ‘सभापतिले मत दिनेलाई पनि नदिनेलाई पनि मिलाएर जान्छु भन्नुभएको छ । ३०/३२ जना मनोनीत गर्ने ठाउँमा १२ जना मात्रै मनोनीत गर्नु भएको छ । उहाँलाई भोट नहालेका प्रतिस्पर्धी समूहमा रहेकाहरूलाई पनि मनोनीत गर्नुहुन्छ ।”सञ्चारकर्मीले डा. शेखर कोइरालाको वरीयताको सम्बन्धमा गरेको प्रश्नमा महामन्त्री शर्माले डा । शेखर कोइराला केन्द्रीय सदस्यको एक नम्बरमा सूचीमा रहेका बताए ।

शर्माले राजनीतिक इगो र आवेगमा संसदलाई बन्धक बनाउनु नहुने बताए । पत्रकार सम्मेलनमा शर्माले भने, ‘मैले दुई दुई पटक विघटन गरेको संसद चल्न दिन्न भन्ने आवेग पूर्वप्रधानमन्त्री केपी ओलीमा देखिन्छ । यदि त्यस्तो हो भने स्थिरताको कल्पना गर्न सकिँदैन ।’

एमालेले आफ्नो पार्टीले निष्कासन गरेको सांसदलाई संसदको बैठकमा राख्न नहुने भन्दै निरन्तर रूपमा सदनमा अवरोध गरिरहेको छ । शर्माले कुनै अथोरेटीले ९सभामुखले० गरेको निर्णयमा असहमति राख्न पाइने भए पनि त्यसलाई मान्नुपर्ने बताए ।

एमाले अध्यक्ष ओली अनुभवी राजनीतिज्ञ भएकाले उनले आत्मसमीक्षा गरेर संसद चल्न दिने महामन्त्री शर्माको विश्वास छ । ‘यो हामी सबैले स्थापित गरेको प्रणालीको कुरा हो’, उनले भने, ‘उहाँ (ओली) ले दृढताको साथ आत्मासाथ गर्नुहुनेछ र संसदलाई नियमित र विधिसम्मत काम गर्न दिनुहुनेछ ।’

नेतृत्वको विधिसम्म कार्य गर्न जरुरी रहेको भन्दै शर्माले सरकारले बोलाएको बैठकमा ओली अनुपस्थित रहेको प्रति असन्तुष्टि व्यक्त गरे । ‘गम्भीर राष्ट्रिय विषयमा संवाद गर्न बोलाउँदा उहाँ नआउने, सर्वदलीय बैठक बहिस्कार गर्ने भइरहेको छ’, शर्माले थपे, ‘उहाँ प्रधानमन्त्री भएको बेला कांग्रेस सभापति एउटा बैठकमा तर्कको साथ उपस्थित हुनु भएन, उहाँले बोलाएको सबै बैठकमा सभापति आलोचना सहेर भए पनि जानु भएको छ, हामीले पनि बैठकमा सभापतिलाई प्रधानमन्त्रीले बोलाएको बैठकमा जान सुझाएका थियौँ ।’

गठबन्धनको सन्दर्भमा भने कांग्रेसले ठिक समयमा ठिक निर्णय लिने महामन्त्री शर्माको टिप्पणी छ । ‘गठबन्धन आगामी निर्वाचनमा पनि यसरी नै हुनेछ भन्ने ठोकुवा गर्न मिल्दैन’, उनले भने,‘कांग्रेसमा विधिवत् छलफल नभइकन आगामी निर्वाचनमा गठबन्धन हुनेछैन भन्न पनि मिल्दैन, हामी ठिक समयमा ठिक निर्णय लिन्छौ ।’

अहिलेको गठबन्धनले आफ्नो दायित्व पूरा गर्नुपर्ने महामन्त्री शर्माको धारणा छ । ‘हामीलाई सरकार चलाउने म्यान्डेट थिएन, प्रतिपक्ष बस्ने नै हामीले म्यान्डेट पाएका हौँ’, उनले थपे, ‘म्यान्डेट पाएकोले सरकार चलाउन सकेन, म्यान्डेट खण्डित भएपछि हामी सरकारमा गएका हौँ।’

प्रकाशित मिति : पुस २२, २०७८ बिहिबार  ५ : ०३ बजे