प्रधानमन्त्री शेरबहादुर देउवाले तीन वटै तहको निर्वाचनको पूर्वतयारी गर्न आग्रह गरेका छन् ।शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एक वर्षभित्रै हुने भएकाले तयारीमा रहन निर्देशन दिएका हुन् ।
राजनीतिक दलहरूबीच निर्वाचनको विषयमा छलफल चलिरहेका बेला प्रधानमन्त्रीले तीनै तहको निर्वाचन एक वर्षभित्र गर्ने घोषणा गरे पनि कुन निर्वाचन कहिले गर्ने भन्ने खुलाएनन् ।एक वर्षभित्र तीन वटै तहको निर्वाचन गर्नुपर्ने उल्लेख गर्दै उनले पूर्वतयारी गर्न सम्बन्धित निकायहरुलाई आग्रह गरेका हुन् ।
देउवाले अहिले संसदमा देखिएको गतिरोध अन्त्यमा राजनीतिक दलहरूबीच संवाद र सहमतिबाट हुने बताए ।
देउवाले यसै वर्षभित्र मेलम्चीको खानेपानी काठमाडौं उपत्यका ल्याउने बताए । देउवाले गत असारमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स पुरिएको र सडक सबै भत्काएकाले पुनर्निर्माण गरेर आगामी चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौं आउने बताए ।
मेलम्ची खानेपानी आयोजना विकास समितिले चिनियाँ निर्माण कम्पनी सिनोहाइड्रोलाई नै मेलम्ची पुनर्निर्माणको जिम्मा दिएको छ । आयोजनाले चैतभित्रै पानी राजधानी ल्याउने यसअघि नै जनाइसकेको छ ।








