प्रधानमन्त्री शेरबहादुर देउवाले सात महिनापछि निजी सचिवालयलाई पूर्णता दिने गरी गृहकार्य सुरु गरेका छन् । स्थानीय तहको निर्वाचनको मिति तोकेपछी निर्वाचन आचारसंहिता लाग्ने भएकाले प्रधानमन्त्री देउवाले त्यसअघि नै निजी सचिवालयलाई पूर्णता दिने तयारी थालेको बालुवाटार श्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच आगामी ४ जेठमा स्थानीय तहको निर्वाचन गर्ने मोटामोटी सहमति भइसकेकाले अब बस्ने मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचनको मिति तोक्ने भएको छ ।
अहिलेसम्म औपचारिक रूपमा प्रधानमन्त्रीको निजी सचिवालय गठन भइसकेको छैन । प्रधानमन्त्री देउवाले अहिलेसम्म स्वकीय सचिवमा भानु देउवा, कानुनतर्फ केशवराज जोशी, प्रशासनतर्फ जनार्दन नेपाललाई औपचारिक रूपमा नियुक्त गरेका थिए । सोमबार प्रधानमन्त्री देउवाको सूचना, प्रविधि एवं सञ्चार विज्ञमा इन्जिनियर दिपेश विष्ट नियुक्त भएका छन् । यस्तै, प्रधानमन्त्री देउवाको भाषण, मन्तव्य तथा वक्तव्य विज्ञमा किरण गजुरेल नियुक्त भएका छन् । देउवाले मंगलबार नुवाकोटका गजुरेललाई ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’ नियुक्त गरेका हुन्।
अझै प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र सल्लाहकार, प्रेस सल्लाहकार नियुक्त हुन बाँकी छ ।प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा डा।प्रकाशशरण महत र रमेश लेखकको चर्चा छ । तर, कांग्रेस उच्च स्रोतले लेखकलाई पार्टी प्रवक्ता बनाउने तयारी भएकाले डा.महत नै प्रमुख राजनीतिक सल्लाहकार नियुक्त हुने छन् ।परराष्ट्र सल्लाहकारमा डा.दिनेश भट्टराईको चर्चा छ ।
सबैभन्दा बढी चासो भने प्रधानमन्त्रीको प्रेस सल्लाहकार को बन्छ भन्ने देखिएको छ । अहिले प्रधानमन्त्रीको प्रेसको काम पत्रकार गोविन्द परियारले गर्दै आएका छन् । अघिल्लोपटक परियार देउवाको सञ्चार विज्ञ नियुक्त भएका थिए । यसपटक उनले प्रेस सल्लाहकार बन्ने इच्छा राखेका छन् ।प्रेस सल्लाहकारमा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलको पनि चर्चा छ ।








